काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रकृया टुग्याएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि एकता प्रकृया टुंगिएको हो । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा पार्टी एकताको सबै प्रकृया टुंगिएको घोषणा गरिएको छ ।
नेकपाले ७७ वटै जिल्लाको जिल्ला अध्यक्ष र सचिवहरुको नामावली सार्वजनिक गरेको छ । तत्कालिन एमालेले ४४ जिल्ला र तत्कालिन माओवादी केन्द्रबाट ३३ जिल्ला अध्यक्षको नेतृत्व पाएको छ । ७७ वटा जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्र महिला परेका छन् । नेकपा मकवानपुर, लमजुङ, काभ्रेपलाञ्चोकमा मात्र महिलाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।
मकवानपुर जिल्लाको साविक एमाले अध्यक्ष मुनु सिग्देल नेकपा जिल्ला अध्यक्ष बनेकी छिन् । उनी प्रदेश ३ को सांसद पनि हुन् । काभ्रेमा माओवादी केन्द्रबाट तत्कालिन जिल्ला संयोजक रुकु चौलागाई जिल्ला अध्यक्ष बनेकी छन् । लमजुङबाट मधु अधिकारी पनि नेकपा अध्यक्ष बनेकी छिन् ।
तत्कालिन माओवादी केन्द्रकी जिल्ला अध्यक्ष अधिकारी नेकपा अध्यक्षको पनि जिम्मेवारी पाएकी हुन् । उनी गण्डकी प्रदेशको सांसद पनि हुन् । कम्तिमा ३३ प्रतिशत महिलालाई आरक्षण दिनुपर्ने कानूनी व्यवस्था भएपनि नेकपाले झण्डै ४ प्रतिशतमा मात्र महिलालाई अध्यक्ष बनाएको छ ।





























प्रतिक्रिया