नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शीतल निवासमा आयाेजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।































प्रतिक्रिया