काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरपछि बैठक शुरु हुने बताइएको छ । मस्तिष्कमा रक्तश्राव भई काठमाडौं मोडेल अस्पतालमा उपचाररत श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको थियो ।
स्व.श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कांग्रेसले मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय शुक्रबार नै गरिसकेको छ ।
यसैबीच कांग्रेसले मंसिर २९ गते सरकार विरोधी प्रदर्शनको तयारी गरेको छ । देशव्यापी रुपमा गर्ने भनेको आन्दोलनका लागि कांग्रेसले नारा तय गरेको छ । पार्टी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।
प्रर्दशनका दिन सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने छन् । उपसभापति विमलेन्द्र निधिले भक्तपुर र महामन्त्री शशांक कोइरालाले विराटनगरमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन् ।
यसैगरि कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा, सहमहामन्त्री प्रकाशशरण महतले झापा, गोपालमान श्रेष्ठले काभ्रेमा, प्रकाशमान सिंह धनुषा, गगन थापा कैलाली र प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्ने बताइएको छ ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।































प्रतिक्रिया