कांग्रेसका कारण ठूलो संख्यामा युवाहरु विदेशीएः झलनाथ खनाल

कांग्रेसका कारण ठूलो संख्यामा युवाहरु विदेशीएः झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १५ ले नयाँ बर्षको सन्र्दभमा सनिबार भुईखेलमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताए ।

२०४६ साल यता पटक पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे ।

उनले भने , “नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ । तर २०४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिवीमा डुबाउनुभयो । सारा देशमा बेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा गर्यो कसले ? नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु । ”

पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उनले सरकारलाई असफल पार्न गरिएका षडयन्त्र विरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिए । पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यस किसिमको षडयन्त्र विरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे ।

कार्यक्रममा काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउनका लागि विशेष अभियान सुरु गरिएको बताए । उनले सिसि क्यामेरा मार्फत अपराधिक गतिविधि मात्रै नभई नगरलाई फोहर बनाउनेहरुको पनि निगरानी गरिने र उनीहरुलाई फोटो सहित सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम महानगरले अघि सारेको बताए ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले ढल निकास, खानेपानी, विद्युत लगायतलाई महानगर मातहत नराखेसम्म महानगरको सम्मुन्नत विकास गर्न नसकिने बताईन् ।

कार्यक्रममा नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई १२ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । वडा नम्बर १५ ले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बार्षिक १२ लाख रुपैयाँ दिने भएको हो । सोही कार्यक्रमको सुरुवात स्वरुप कार्यक्रममा दुई जना वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षणको परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

Logo