उपसभामुख रानाको विवादित पत्र र रास्वपाको तर्क

उपसभामुख रानाको विवादित पत्र र रास्वपाको तर्क

केन्द्रबिन्दु
45
Shares

नयाँ दलका रूपमा उदाएसँगै निकै उत्साहका साथ हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को गर्दै विवादमा पर्दै आएको छ । पुराना दलभन्दा फरक काम गरेर देखाउने गरी आफूलाई राजनीतिमा स्थापित गराउन खोजेको दल किस्ताकिस्तामा विवादित बन्दै गएपछि वैकल्पिक राजनीतिको सपना देख्दै आएका आम सर्वसाधारणमा नैराश्य छाउनु स्वाभाविक पनि हो । किनभने पुराना दलहरूको अराजकता र अकर्मण्यताले वाक्कदिक्क भएका नागरिकले रास्वपालाई नयाँ आशा र उत्साहका साथ समर्थन गर्दै आएका थिए । तर रास्वपा सुरुदेखि नै विवादबाट अछुतो रहन सकेन ।

सुरुदेखि नै विभिन्न काण्डमा मुछिँदै आएका रास्वपाका सभापति रवि लामिछाने उपर अहिले पनि विभिन्न आरोप छन् । कोही व्यक्ति दोषी या निर्दोष हुने कुरा त्यस व्यक्तिमाथि छानबिन भएपछि प्रमाणित होला नै ! तर आज रास्वपाका अन्य पदाधिकारीमाथि लागेका आरोपभन्दा पनि उपसभामुख इन्दिरा रानामगरउपर लागेको आराेपबारे यो लेख केन्द्रित छ ।

रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा पाँच जना सहभागी गराउन भन्दै काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन पत्र लेखेको भेटियो । जुन पत्र विवादमा परेपछि अहिले राजनीतिक वृत्त तातेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले त उपसभामुख इन्दिरा रानाले पाँच जनालाई अमेरिका पठाउने भन्दै ९ लाख रुपैयाँ बुझेको दाबी गरेका छन् । मुकुलले यस्तो दाबी गर्दै ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित रहेको भन्दै फेसबुकमै लेखेका छन् ।

रानाले उक्त पत्रमा उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन् । जुन पत्रलाई लिएर रानाले मानव तस्करी गर्ने खोजेको आरोप छ ।

मानव तस्करी गर्न खोजिएको भन्दै लगाइएको आरोपको प्रतिवाद गर्दै उपसभामुख रानाले आफूलाई अहिले बदनाम गर्न खोजिएको बताएकी छिन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करीजस्ताे आराेप लगाउनु निन्दनीय भएकाे टिप्पणी गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । उपसभामुख रानाले अन्तर्वार्ताका लागि समय मिलाउन सिफारिस गरे पनि कुनै आर्थिक लेनदेनको पुष्टि नभएकाे रास्वपाले दाबी गरेकाे छ ।

रास्वपाले विभिन्न कुटनीतिक निकायका जानकारहरूसँग बुझेको भन्दै धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको उल्लेख गरेको छ ।

आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी रानामगर विभिन्न प्रतिष्ठित राष्ट्रिय-अन्तरराष्ट्रिय पुरस्कारबाट विभूषित व्यक्ति हुन् भनेर उसले भावनाका कुरा पनि गरेको छ । तर रास्वपाले गरेको भावनाका कुराले आरोपको खण्डन हुने होइन ।

सांसद सुमना श्रेष्ठले “विधि-पद्धति बनाउने हो भने सबैका लागि बनाऊँ” भनेर संसद्बाटै रानामगरमाथि लागेको आरोपको प्रतिकार गरिन् । यस्तै सांसद मनिष झाले “छानबिन गर्ने हो भने सबैको गरौँ” भनेको तर्क र श्रेष्ठको तर्क उस्तै देखिन्छ

अरू दलले गरेको अनियमितताका दाँजोमा यो ठूलो कुरो होइन, यसलाई नजरअन्दाज गरिदिनुपर्छ। अर्थात् “गर्ने भए तिमीहरूको पनि छानबिन गर, हाम्रो पनि गर । तिमीहरू पनि दण्ड सजाय भोग्न तयार छौ भने हामी पनि तयार छौँ ।” भन्ने आशयको तरक लाग्छ । हिजोका दिनमा सत्ताको बागडोर सम्हालेकाहरूले गलत गरे भनेर आफूहरूले गरेको गल्तीलाई सामान्यीकरण गर्न जति फितलो तर्क अरू केही हुँदैन ।

पुराना दलले बनाएको बाटोमा पछिपछि जाँदै गरेको रास्वपाले आफूलाई इमान्दार देखाउँदै राजनीतिको गुलियो पोखरीमा डुब्नबाट जोगाउनु नै वाञ्छनीय हुने थियो ।

Logo