काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका राजदूत फेलिसिटी जान भोल्कले आज बिदाइ भेट गरेकी छन् । सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी उनी अष्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुन् ।
साढे तीन वर्षे कार्यकाल पूरा गरेर आगामी अगष्टमा स्वदेश फर्कनुअघि राजदूत भोल्कले बिदाइ भेट गरेकी हुन् ।
भेटमा सभामुख घिमिरेले नेपालको लागि अष्ट्रेलियन राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकाेमा बधाई ज्ञापन गरेका छन् । ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ,’ उनले भने, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ ।’
सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच यस वर्ष सम्पन्न भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे । उनको भनाइ थियो, ‘सम्झौता पश्चात् व्यापार र लगानीका क्षेत्रमा थप विस्तार हुने अपेक्षा रहेको छ ।’
सामुदायिक वन कार्यक्रममा अष्ट्रेलिया सरकारको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा पनि यस्तै दीर्घकालीन प्रभाव पार्ने सफल परियोजनामा अष्ट्रेलिया सरकारको सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे । नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान–प्रदान, नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहको गठन लगायतले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाइ छ ।
उनले अष्ट्रेलिया सरकारले कोभिड–१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत भोल्कले नेपाल र अष्ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा आदान जारी रहने बताइन् । ‘अष्ट्रेलियामा केही समयपछि संसदीय निर्वाचनका कारण तत्कालै उच्चस्तरको भ्रमण नभए पनि आगामी दिनमा भ्रमणले निरन्तरता पाउने विश्वास लिएको छु,’ उनले भनिन् ।
नेपाल र अष्ट्रेलियाबीच भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) बैठकका लागि अष्ट्रेलियन टोली काठमाडौं आउने तयारीमा रहेको बताउँदै राजदूत भोल्कले सम्झौतालाई नेपालको हितका प्रयोग गर्ने विषयमा छलफल हुने बताइन् । आफ्नो कार्यकालमा नेपालमा कुनै पनि नकारात्मक विषय नपाएको बताउँदै उनले भनिन्, ‘मैले नेपालमा रहँदा नेपाली भाषा सिक्न सकिनँ, तर एउटा वाक्यांश सिकेँ– यो मन त मेरो नेपाली हो ।’





























प्रतिक्रिया