प्रधिनिधिसभा विघटनविरुद्ध माइतीघरमा प्रचण्ड–माधव समूहको प्रदर्शन (फोटोफिचर)

प्रधिनिधिसभा विघटनविरुद्ध माइतीघरमा प्रचण्ड–माधव समूहको प्रदर्शन (फोटोफिचर)


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज पनि माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना दिएका छन् । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार आज पनि धर्ना दिएको हो ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ । आजको धर्नामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।

सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन् । सातदशक लगाएर दशौं हजारको वलिदानबाट निर्मित संविधानलाई उल्लङ्घन गर्ने, कू गर्ने काम भएकाले त्यसको विरोधमा धर्ना बसेको सहभागी नेताहरुले बताएका छन् । संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेसिता र धर्म निरपेक्षताको रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागी नेतृ पम्फा भूसालले बताइन् ।

धर्नामा सहभागीहरुले ‘संसद विघटन गर्न पाइदैन, निरंकुशतन्त्र चाहिंदैन’, ‘संविधानको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं’, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । धर्नामा विघटित प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासदहरु लगायतको उपस्थिति थियो । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने बताइएको छ ।

Logo