गणेशमान सिंहको प्रतिमा भत्काइयो

गणेशमान सिंहको प्रतिमा भत्काइयो

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । सिरहास्थित पूर्वपश्चिम राजमार्ग ४ लेन बिस्तार गर्ने क्रममा सोनापुर चोकमा रहेको गणेशमान सिंहको उद्यान भत्काइएको छ । उद्यानसँगै उनको प्रतिमा पनि फाण्डेसनदेखि नै उखेलेर राखिएको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता तथा लौह पुरुष उद्यान निर्माणमा सक्रिय रामदयाल यादव भन्छन्, ‘२०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनुभएको थियो । मेरै घरमा बसेर कार्यकर्ताहरूसँग भेटघाट गर्नुभयो । प्रजातन्त्र पुनस्थापनापश्चात् सुशिलचन्द्र अधिकारी, गोपालबहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौँ । गणेशमान फाउण्डेशनबाट ३० हजार रुपैयाँ र प्रतिमा उपलब्ध गराइएको थियो । गणेशमान सिंहका पुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि यहाँ आएर प्रतिमामा मल्यार्पण गर्नुभएको छ ।’

प्रजातन्त्र पुनस्थापनापश्चात् २०५० सालमा नेपाली कांग्रेसका स्थानीय पुराना पुस्ताका कार्यकर्ताहरू गोपालबहादुर राउत, सुशिलचन्द्र अधिकारी र रामदयाल यादवको सक्रियतामा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नं ११ सोनापुर चोकमा राजमार्गसँगै सिंहको अर्धकदको प्रतिमा स्थापना गरेका थिए । यहाँ सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो । मधेश आन्दोलन २०६३ मा पनि यस प्रतिमामा क्षति पुर्‍याइएको थियो । प्रतिमा स्थापना गर्ने मध्येका एक यादव भन्छन्, ‘बडो मुस्किलले अनुनयविनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौँ । अहिले सडक बिस्तार गर्ने क्रममा भताभुङ्ग पारियो ।’

सिंहको उद्यान निर्माता राउतले ८५ वर्ष नाघेका छन् । उनी यस ठाउँबाट काठमाडौँ बसाइँ सरे । उनी हिँडडुल गर्न सक्दैनन् । त्यसकारण सोनापुर आउन असमर्थ छन् । अर्का संस्थापक सुशिलचन्द्र अधिकारी अहिले राजतन्त्र पुनस्थापना आन्देलनमा सक्रिय छन् । यादव भन्छन्, ‘दशैँपछि यसको व्यवस्थापन गर्न कुनै उपाय गर्नुपर्ला ।’ २०४६ सालको जनआन्दोलनका कमाण्डर सिंहलाई प्रजातन्त्र पुनस्थापनापछि लौह पुरुष उपनामले सम्बोधन गरिन्थ्यो ।

Logo