काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबारे समाचार सम्प्रेशण नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन् ।
विप्लवबारे समाचारले हिसांलाई प्रोत्साउन गर्ने भन्दै त्यस्ता समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेका हुन् । हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आज आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बास्कोटाले यस्तो चेतावनी दिएका हुन् ।
‘हिंसा गर्नका लागि कसैले साथसहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ,’ उनले भने, ‘सरकारले संगठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हनन भएको मान्ने कि न मान्ने ?’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चारमाध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको भन्दै मन्त्री बास्कोटाले आक्रोश व्यक्त गरे । सञ्चारमाध्यमको नाम नलिए पनि मन्त्री बास्कोटाले त्यस्ता सञ्चारमाध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए ।































प्रतिक्रिया