एमाले सांसद शर्मालाई तत्काल पक्राउ गर्न बालेनले लेखेको स्टाटस कता हरायो ?

एमाले सांसद शर्मालाई तत्काल पक्राउ गर्न बालेनले लेखेको स्टाटस कता हरायो ?

केन्द्रबिन्दु
120
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गर्ने लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई तत्काल पक्राउ गर्न माग गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका थिए । सांसद शर्माको तस्विर नै राखेर पोष्ट गरेको स्टाटसमा झण्डै २ लाखले लाइक तथा कमेन्ट गरेका थिए । बीसौं हजारले सेयर गरेका थिए । सांसद शर्मालाई नपक्रेकोमा मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका थिए । उनले गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिनुभन्दा नाबालिकालाई घरेलु कामदारको नाममा दैनिक रूपमा कुटपिट गर्दै आएकी सांसद शर्मालाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।

मेयर बालेनले भनेका थिए, ‘शुशासन भनेको अदालतले पनि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ, सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘कहिले समाउने ? कि नसमाउने ?’

तर, यो स्टाटस आज हटेको छ ।

बालेन निकट स्रोतका अनुसार एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि उक्त स्टाटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो । बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका केही स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो ।

तर, एमाले पङ्तिको प्रतिवादमै बालेनले सोमबार लेखेको स्टाटस भने हटेको छैन । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् । साथै मेयर बालेनले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाएका छन् । ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनितिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’ उनले भनेका छन् । सांसद शर्मामाथि एक नाबालिकालाई विगत ८ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ। उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरले उद्धार गरेको थियो। हाल बालिकालाई महानगरले संरक्षण गृहमा राखेको छ । तर, सत्ताको संरक्षणमा पक्राउ परेकी छैनन् । यसविरुद्ध मेयर बालेनले निरन्तर सरकारलाई दबाब दिँदै आएका छन् ।

Logo