‘मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व’ -प्रधानमन्त्री ओली

‘मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व’ -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको उद्घाटन गरेका छन् ।

उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका हुन् ।

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ उनले भने, बसाईँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीकाबीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि जनाए ।

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइसराई’ केन्द्रित भई छलफल हुनेछ ।

उद्घाटनपत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे । सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी थिए । फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।

Logo