‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो, साध्य होइन’ -राष्ट्रपति पौडेल

‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो, साध्य होइन’ -राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धी हासिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन् ।

बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको बताएका हुन् । सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।’

उनले सिद्धान्तमा सम्झौंता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउदै वीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे। उनले भने,‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन् जुन हाम्रा लागि सधैं प्रेरणाका रुपमा रहिरहनेछ ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे ।

उनले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बीपीको दृढ मान्यता रहेको स्मरण गर्दै भने,‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हाँसिल गर्न सफल भएका छौं ।’

Logo