काठमाडौं । लेखक मोहन तिम्सिनाको जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण पुस्तक विमोचन भएको छ । शनिबार प्रज्ञा भवन कमलादिमा एक विशेष समारोहकाबीच पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसका साथीहरुले पढ्नै छोडेको आरोप लगाएका छन् । उनले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा समेत अध्ययन गर्ने कांग्रेसले अहिले पढ्नै भुलेको आरोप लगाएका हुन् ।
उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।’
साथै, उनले देशमा पठन संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
यस्तै, अध्यक्ष भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसिपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए । उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।
प्रतिक्रिया