नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
आज देशका बिभिन्न क्षेत्रमा सवारीसाधनहरुमा आगजनी गरिएका छन् भने बम र शंकास्पद वस्तु फेला परेका छन्। सार्वजनिक सवारी सञ्चालनमा आएपनि कतिपय विद्यालय भने आज बन्द रहेका छन् ।
अप्रिय घटना रोक उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।
आगजनी
त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ । गएराती पौने १२ बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पूर्वसन्ध्यामा गुडीरहेको उक्त गाडीलाई रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको चालकले जानकारी दिए । मास्क लगाएका एक समूहले ट्रकमा आगजनी गरेको बताइएको छ । घटनाको कुनै पनि समूहले जिम्मा लिएको छैन । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी भएको छ । बुधबार साँझ पश्चिम नवलपरासीको बासाबसहीमा गएराति ८/१० जनाको अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।
भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् ।
बम डिस्पोज
बुटवलमा मुख्य राजमार्गमै बम भेटिएको छ। बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बम सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम डिस्पोज गरेको हो । गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ।
दाङ, प्युठान, पोखरामा शंकास्पद बस्तु फेला
दाङमा शंकास्पद बस्तु फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै शंकास्पद बस्तु फेला परेको हो । ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाहीको टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा पनि शंकास्पद बस्तु फेला परेको छ ।
यस्तै गरिपोखराका विभिन्न स्थानमा शङ्कास्पद बस्तु फेला परेका छन् । सभागृह चोकस्थित ट्राफिक प्रहरी बस्ने डोम नजिकै राखिएको वस्तु सेनाको टोलिले डिस्पोज गरेको छ ।
डिस्पोज गरिएको बस्तु सुतली बम रहेको हुनसक्ने प्रहरीले जनाएको छ । यस्तै पोखरा २९ भण्डारढिक छेत्रमा समेत शङ्कास्पद बस्तु फेला परेको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको छ । एसबीआई बैंकको नजिकै सकेट बम फेला परेको र बिना कुनै क्षति सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।
मकवानपुरको हेटौडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै रुकुमको सिस्ने गाउँपालिका-५, स्थित रुकुमकोट जिल्ला अदालत नजिकै शंकास्पद वस्तु फेला परेको छ ।





























प्रतिक्रिया