प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारवाही गर्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।
नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि बताए । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे । लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुन बमोजिम कार्वाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी छ ।
प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए । उनले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए । प्रधानमन्त्री ओलीले मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तराष्ट्रिय मंचहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।





























प्रतिक्रिया