काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् ।
उनले भने, ‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो । हामीले एउटा असल संविधान बनायौँ । यो संविधानमा केही कमिकमजोरी छैन भनेर भन्न सकिँदैन तर सबै कुरा ठीक छ भनेर पनि भन्न सकिन्न । किनभने सम्पूर्ण केही पनि हुँदैन । सर्वगुण सम्पन्न केही पनि हुँदैन । जीव होस् या अमृत चिज होस् सम्पूर्ण गुणसम्पन्न हुँदैन । तर यो संविधान असलमध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ति भएको हो ।’
यस्तै, उनले नेपालको संविधान कान्छो संविधान भएको भन्दै यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको बताए । उनले भने, ‘२००४ सालदेखि प्रारम्भ भएर ६८ वर्षपछि हामी २०७२ सालमा पुग्यौँ । यसबीचमा हामीले ६ वटा संविधानहरू बनायौँ । एउटा अन्तरिम संविधानबाहेक अरू सबै ५ वटा संविधान कुनै न कुनै रूपमा कि त असफल भए कि त असफल पारिए । त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौँ । हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधानहरू छन् । त्योमध्ये नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गर्यो ।’
साथै, उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए । उनले यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।































प्रतिक्रिया