(रामजी बलामी)
अलगै राज्यको माग राखेर आन्दोलन गरिरहेका सिके राउतले अन्तत: सरकारसंग ११ बुँदे सहमति गरेका छन् । उक्त समूहले पृथकतावादी आन्दोलन त्याग्ने, संविधान स्वीकार गर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत विषयमा सहमति जनाएको हो।
सरकार र गठबन्धनबीच भएको सहमतिः
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।
२. राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तरार्इ मधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं।
३. लोकतन्त्रमा मतभेदहरु हुन सक्छन्। तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ। त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं।
४. सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो। हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं। त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं।
५. स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ। कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ।
६. स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन।
७. स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन। र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन।
८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ।
९. स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ।
१०. स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं।
११. सहमति आजैका मितिबाट लागू हुनेछ।
को हुन् सीके राउत ?
सप्तरीको हदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए । उनले अमेरिकामा मधेसी हकहितका लागि भन्दै गैर आवासीय मधेसी संघ गठन गरेका थिए ।
पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा इलेक्टिोनिक्स ईन्जिनियरिङमा स्नातक गरेका उनी मोनबुशो छात्रवृतिमा जापान पढ्न गएका थिए । सन् २००४ ताका गेरु वस्त्रसहित घरबाट निस्केका उनी भारतको कलकत्ता, मद्रास, मधुराई, बैंगलोर, कन्याकुमारी हुँदै प्रशान्ति निलमसम्म पुगेका थिए ।
उनले आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ भन्ने पुस्तक लेखेका छन् । पुस्तकमा उनले आफुले पहिचानको ब्रह्मज्ञान भेटेको लेखेका छन् । ऋतिक रोशन काण्ड र इराकमा नेपालीहरुको हत्या काण्डमा राजधानी काठमाडौमा ठूलो दंगा उत्पन्न भयो । राउतले यी दुबै घटनालाई मधेसीमाथि दमनका रुपमा लिएका छन् ।
सन् २००६ को अगस्तमा शुरु भएको मधेस आन्दोलनका क्रममा उनी लगायतले मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन गठन गरी आन्दोलन चर्काएका थिए । त्यसबखत उनले मधेसको झण्डादेखि राष्ट्रगान समेत तयार पारेका थिए । कम्प्युटर ईञ्जिनियर समेत रहेका उनले विवश्वान कुमार, आजाद, ईंजोड लगायतका नामबाट लेख रचना लेख्ने गर्दथे ।
सन् २००९ मा उनी अमेरिका गएर बीबीएन कम्पनीमा वैज्ञानिकका रुपमा काम गरे । पछि फेरि नेपाल फर्केर उनले मेचीकाली अभियान चलाए । त्यसैक्रममा उनले नेपाललाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि चौतर्फी विरोध समेत भएको थियो । उनले ‘मधेस स्वराज’ नामक पुस्तकमा नेपालबाट मधेस अलग बनाउनुपर्ने लेखेका छन् ।
विखण्डनकारी ८ अभियान
१. मधेस प्रशासनको स्थापना गर्ने र नेपाली अधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाउने।
२. मधेसमा रहेको प्राकृतिक स्रोतमाथि नेपाल सरकारको नियन्त्रण हटाउने ।
३. मधेसीबाट लिइएको भूमि फिर्ता गराउने ।
४. नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने ।
५ . संयुक्त राष्ट्रसंघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालन गर्ने ।
६. मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने ।
७. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने ।
८ . मधेसी सेनाको स्थापना गर्ने र नेपाली सेनालाई मधेशबाट हटाउने ।
केन्द्रबिन्दु अर्काइभबाट































प्रतिक्रिया