चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छः सभापति देउवा

चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छः सभापति देउवा

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन्।

तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको बताए।

नेपालमा विभिन्न जातजाति, भाषाभाषी, धर्म, विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको र यसले हामीमा निहित बन्धुत्व भावको विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्।

“तिहारले पनि हामीबीचको एकतालाई अझ मजबुत बनाएको छ। यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ। नेपाल संवत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको सन्देशमा उहाँले उल्लेख गरेका छन्। सभापति देउवाले नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने बताए।

यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो।सभापति देउवाले शङ्खधर साख्वाःलाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेकोे उल्लेख गरेका छन्।

सभापति देउवाले अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्ने कामना गरेका छन्।

Skip This
Skip This
Logo