काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै सुरु भएको बैठक मंसिर २८ गतेसम्मलाई स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफू अनुपस्थिती भएपनि अनुपस्थित हुनुको कारण भने एक पत्र पठाएर जानकारी गराएका थिए ।
सरकारले पहिलोपटक परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । नेपाल सरकारले स्वीकृत गरेको नीतिले नेपालको विदेश मामिलामा संलग्नताको विषयमा स्पष्ट रुपमा मार्ग तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नीतिले छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्ने उद्देश्य लिएको मन्त्रालयले जनाएको छ ।
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पूरा गर्न सरकारले अटेरी गरेको भन्दै उनीहरूले यही डिसेम्बर ८ तारिखका दिन देशभर बन्दको आह्वान गरेका हुन् । कृषि सम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् ।
‘मिस नेपाल वल्र्ड–२०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । हिडन ट्रेजरद्वारा शनिबार आयोजित कार्यक्रममा २५ औं मिस नेपाल नम्रतालाई ‘मिस नेपाल वर्ल्ड–२०१९’ अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् । नम्रता श्रेष्ठ पेशाले किन्डर गार्डेन शिक्षक समेत हुन् ।
साताको पहिलो दिन आइतबार शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । आइतबार सेयर बजारबाट लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ । जसले गर्दा लगानीकर्ताले एक दिनमै एक खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन् ।





























प्रतिक्रिया