काठमाडौं । जनयुद्धको सुरुवात गरिएको दिनको सम्झनामा आज देशभर जनयुद्ध दिवस मनाईदैंछ । २०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको शुरुवात गरेको थियो ।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
तर यो पटक नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाले भने आधिकारिक रुपमा ‘जनयुद्ध’ को हैसियत अस्वीकार गरेको छ। आज आयोजना हुने कार्यक्रम ‘जनयुद्ध तथा जनआन्दोलन दिवस’ का रुपमा मनाउँदैंछ ।
सत्ताधारी र दुई तिहाई बहुमत बोकेको पार्टीले त्यसलाई ‘जनयुद्ध’ मात्र नभनि जनयुद्ध तथा जनआन्दोलन दिवसका रुपमा मनाउने र त्यसमा सहिदहरुलाई श्राद्धाञ्जली दिने गरी कार्यक्रम तय गरेको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी ओली अनुपस्थित रहने छन्। पार्टी कार्यालयले पठाएको निमन्त्रणामा भनिएको छ, ‘नेकपाको केन्द्रीय कार्यालयद्धारा आयोजित ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली’ कार्यक्रममा सहभागि हुन निमन्त्रणा गरिन्छ।’
कार्यक्रम बुधबार बिहान साढे १० बजे पार्टी कार्यालय धुम्बाराहीमा हुनेछ। तर, तत्कालीन माओवादीका अध्यक्ष एवं ‘जनयुद्ध’का सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल मात्रै त्यस कार्यक्रमका प्रमुख अतिथिका रुपमा जाने छन्।
फागुन एकलाई ‘जनयुद्ध’ को हैसियत दिने एकीकृत पार्टीले संस्थागत निर्णय नलिएपनि अन्य माओवादीहरुले भने ‘जनयुद्ध’ दिवस नै भनेर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
२०५२ साल फागुन एक गते तत्कालिन प्रधानमन्त्रीलाई पछि माओवादीमा परिणत भएको संयुक्त जनमोर्चाका तर्फबाट ४० बुँदे ज्ञापनपत्र बुझाइएको थियो, एक महिनाभित्र गणतन्त्र लगायतका माग पुरा नगरे सशस्त्र विद्रोहमा जाने धम्की दिएको थियो । तर म्याद नगुज्रदै माओवादीले चार प्रहरी चौकीमा सशस्त्र हमला गरेर हत्या र हिंसाको विद्रोहको सुत्रपात गरेको थियो ।
संविधान निर्माणका क्रममा पनि माओवादीले आफ्नो नेतृत्वको सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’को हैसियत संविधानमा स्थापित गर्न चाहेपनि तत्कालिन एमाले लगायत सबै पार्टीले त्यो हैसियत अस्वीकार गरेपछि माओवादीको प्रयास असफल भएको थियो। उक्त ‘जनयुद्ध’ १४ हजार भन्दा बढी मानिस मारिएका थिए । त्यस्तैं हजारौंको संख्यामा घाइते, अंगभंग भएका थिए ।
तस्बिरः गत वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डुले २३ औं जनयुद्ध दिवसमा केक काट्दैं ।





























प्रतिक्रिया