हेटौँडा–१२ उपनिर्वाचनः गत चुनावमा माओवादी केन्द्रका घलानले जिते, यसपटक कसको पल्ला भारी ?

हेटौँडा–१२ उपनिर्वाचनः गत चुनावमा माओवादी केन्द्रका घलानले जिते, यसपटक कसको पल्ला भारी ?

केन्द्रबिन्दु
150
Shares

हेटौँडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

वडाअध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा देखा परेका छन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीबीच तीब्र प्रतिस्प्रर्धा भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ । गत चुनावमा हेटौँडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।

गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन । विजयी भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।

गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् । माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ ।

यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् ।

काँग्रेसले भने अझै वडाअध्यक्षको उम्मेदवारको टुंगो लगाउन सकेको छैन । वडाबाट पाँच जनाको नाम सिफासिर भए पनि जिल्ला पार्टी समितिबाट अन्तिम टुंगो लगाउन सकेको छैन । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी छ ।

Logo