काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक सकिएसँगै भोलि बस्ने स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका दुवै ‘प्रस्ताव’माथि छलफल हुने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि भोलि १ बजे बस्ने स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल गराउने निर्णय भएको पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए ।
नेपालमा इन्टरनेट व्यान्डविथ खपत ३० प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कोरोना भाइरसको प्रभाव बढेसँगै देशमा लकडाउन गरिएकाले सम्पूर्ण मान्छेका गतिविधी अनलाइनतर्फ मोडिएकाले इन्टरनेट प्रयोगमा भारी बृद्धी भएको हो । त्यसमा पनि देशमा भिडियो सेयरिङ एप टिकटकको प्रयोग बढ्दै जाँदा इन्टरनेट ब्यान्डविथ खपत बढेको हो ।
शनिबार काठमाडौं लगायतका देशका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै प्रदर्शन भएको छ । राजसंस्था पुनस्र्थापना, धर्म निरेपक्षताको खारेजी तथा हिन्दू राज्य पुनस्र्थापना लगायतका विषय प्रदर्शनकारीका प्रमुख माग रहेका छन् । सरकारले कोरोना भाइरस महामारीका बेला संक्रमण जोखिम हुने भन्दै यस्ता प्रदर्शनहरू नगर्न र गरेमा कारबाही गर्ने चेतावनी दिए पनि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।
सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ । सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको, देशमा दमन र बेथितिको अवस्था रहेको तथा कोभिड १९ व्यवस्थापन लगायत विषयमा चरमसीमा नाघेको भन्दै कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको हो ।
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ । विभिन्न देशमा विभिन्न चरणमा परिक्षण भइरहेका खोप शुरुमा २० प्रतिशत जनतालाई पुग्ने गरि ल्याउने र विस्तारै सबैलाई पुग्ने गरी खोप ल्याइने सरकारको तयारी छ। त्यसका लागि विभिन्न कूटनीतिक नियोगसँग छलफल भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया