काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेकी छिन् ।
धम्म स्टडी एण्ड सर्पोट फाउण्डेसन काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान् गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राखेकी हुन् ।
‘विश्वको एक पवित्र भूमिमध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्वविदितै छ ।’ उनले भनिन्, ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनुभएको चार आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला। जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बनेको छ ।’
उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभई समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठूलो योगदान पुगाउने बताइन् ।
उनले मानवजातिमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउँदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राखिन् ।
भगवान् बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध दर्शनबाट मिल्ने शिक्षालाई सही रूपमा आत्मसात गर्न सकेमा जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो । कार्यक्रममा अभिधर्मका प्रकाण्ड विद्वान् ९८ वर्षीया आचार्य सूची र भन्ते सुमनले प्रवचन दिएका थिए ।































प्रतिक्रिया