भेनेजुयलालाई नेकपाको बलियो साथ, अमेरिकालाई हस्तक्षेप नगर्न सचेत

भेनेजुयलालाई नेकपाको बलियो साथ, अमेरिकालाई हस्तक्षेप नगर्न सचेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान दोहो¥याएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्‍याएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान स्पष्ट पार्दै त्यसमा कुनै पनि भ्रम नराख्न र सो सम्बन्धि विषयलाई लिएर गलत प्रचार नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराइएको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले आफ्नो पार्टीको विदेश नीति र सम्बन्धमा कुनै अन्यौल र दुविधा नभएको पनि स्पष्ट पारेको छ । ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिवद्ध रहि आएको छ । हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ,’ पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।’

सचिवालय बैठकले हाम्रो पार्टी ‘विश्वशान्ति, समझदारी र समृद्धि’ को पक्षमा रहेकोे पनि स्पष्ट पारेको छ । ‘‘यससम्बन्धमा पार्टीको दृष्टिकोण र नीति स्पष्ट र स्थिर छ” उनले भने, “हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ ।’’

उनले आफ्नो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए ।

Logo