अवैध संरचना भत्काउनुपर्ने माग गर्दै कञ्‍चनपुर बन्द

अवैध संरचना भत्काउनुपर्ने माग गर्दै कञ्‍चनपुर बन्द

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । महेन्द्रनगरमा बनेका अवैध संरचना भत्काउनुपर्ने माग राख्दैं आजदेखि अनिश्चितकालको लागि कञ्चनपुर बन्द आह्वान गरिएको छ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर युवा विद्यार्थी संगठनले अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्।

युवा विद्यार्थी संगठन अवैध लिज विरुद्व चरणबद्व आन्दोलनमा छन् । बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ ।सदरमुकामदेखि छुट्ने सवारी साधन ठप्प भएका छन्। भने स्कुल, कजेललगायत सरकारी कार्यालय समेत बन्द भएका छन्।

आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्। सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्।

अनिश्चितकालिन बन्द आह्वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ। अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा अलपत्र परेका छन्।

अनेरास्ववीयु कञ्चनपुरका अध्यक्ष ओम वस्नेतले अहिलेसम्म पनि माग पूरा गर्नेतर्फ राज्यका निकायले ध्यान नदिएपछि आमहड्ताल गर्न वाध्य भएको प्रतिक्रिया दिएका छन् ।

आफूहरुले अघि सारेका माग सम्बोधन नभएसम्म आमहड्ताल कायम रहने उनको भनाई छ । अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्रराज विष्टले तत्काल सरकारी जमिन जथाभावी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउनेतर्फ ध्यान दिन सरकारसँग माग गरे ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन अन्यथा आफैं हटाउने भनि आदेश जारी गरेको एक महिने समय सकिए पनि कुनै पहल नभएको युवा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको बजार क्षेत्रको जमिन अध्यक्षहरुले तोक आदेश दिएर लिजमा दिएको देखिएको छ। नगर विकास समितिका अध्यक्षले तोक आदेशका भरमा करिब १४३ संस्था र व्यक्तिलाई जमिन लिजमा दिएका थिए ।

Logo