सरकारमा भएका नेताहरु विचौलिया र दलालहरुको हातमा छन्ः अध्यक्ष प्रचण्ड

सरकारमा भएका नेताहरु विचौलिया र दलालहरुको हातमा छन्ः अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति विचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहेका नेताहरु विचौलियाको भूमिकामा रहेको आरोप लगाएका हुन् । उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको पनि बताए ।

उनले भने, ‘सरकारमा रहेका राजनीतिक दलका नेताहरुको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालहरुको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर विचौलियाहरुले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरुभन्दा बाहेक केही पनि देखिएन ।’

अध्यक्ष प्रचण्डले दलाल विचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दै अब आफूहरुले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए ।

उनले भने,‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरुको पनि आत्मसमीक्षा गर्यौ । दलाल विचौलियाहरुले त आफ्नो संख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।’

उनले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे ।

Logo