भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन सहभागी

भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन सहभागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका छन् । शनिवार काठमाडौंमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुन सहभागी भएका हुन् ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्व सभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका भारतीय नागरिक तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा उपराष्ट्रपति पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई र राजदूत पुरीले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशक पुगेको अवसरमा दूतावासले प्रकाशन गरेको ‘भारत– नेपाल कूटनीतिक सम्बन्धका ७० वर्ष’ नामक पुस्तक संयुक्तरुपमा लोकार्पण गरे ।

यसअघि आजै बिहान दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै भारतका राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश वाचन गरेका थिए ।

त्यस अवसरमा केन्द्रीय विद्यालय, मोडर्न इण्डियन स्कूल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले देशभक्तिका गीत प्रस्तुत गरेका थिएभने नेपाली सेनाको टोलीले विविध मधुर सङ्गीत पस्केको थियो ।

सोही कार्यक्रममा राजदूत पुरीले दुई वीर नारी, नौ एकल महिला र तीन मृतक सैनिकका निकटतम नातेदारलाई रु ७ करोड २६ लाख नगद तथा कम्बल प्रदान गरे ।

त्यसैगरी उनले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक प्रतिष्ठानलाई ३० वटा एम्बुलेन्स तथा छ वटा बसको साँचो हस्तान्तरण गरे ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन ५४ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई अनुदान स्वरूप पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेका थियो ।

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ । रासस

Logo