काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि अनसनरत डा. गोविन्द केसीले आपतकालीन पत्रकार सम्मेलन गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आफुसँग गरेको सहमती अनुसार विधेयक नल्याईएको भन्दै डा. केसीले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो’ उनका सहयोगी जीवन क्षेत्रीले पत्रकार सम्मेलनमा भने ।
संसदबाट पारित गरिएको विधेयकले आफुसँग गरिएको सम्झौताको अपमान गर्नुका साथै आम नेपालीसँग जालझेल गरेको केसीको ठम्याईछ ।
१७ औं दिनदेखि अनसनरतमा बसिरहेका डा. केसीका तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै जनतामाथि नै धोका भएको उल्लेख गरेका छन् ।
डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो । कांग्रेसको अवरोधकाबीच बहुमतले पारित गरेपछि विपक्षीले कडा प्रतिवाद गर्दै आएका छन् ।
कांग्रेसले पनि आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कदमको विरोध गरेको छ । त्यस्तै कांग्रेस भातृ संगठनहरुले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन नै गरेका छन् ।































प्रतिक्रिया