‘दुईतिहाइले ओलीलाई कारबाही गर्न सकिन्छ तर हामी सर्वोच्चको फैसला कुरिरहेका छौं’ : प्रचण्ड

‘दुईतिहाइले ओलीलाई कारबाही गर्न सकिन्छ तर हामी सर्वोच्चको फैसला कुरिरहेका छौं’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने बताएका छन् । ‘नेकपा, कांग्रेस र मधेसवादी दलहरू मिलेर ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिन्छ’, आफू नेतृत्वको पार्टीको सुदूरपश्चिम कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘तर, हामी सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं।’ दाहालले सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भएकाले सही फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले सम्बोधनको सुरुमै अर्का अध्यक्ष माधवकुमार नेपालसँगको मित्रताबारे उल्लेख गरेका थिए। ‘तपाईंहरूलाई लाग्दो होला, प्रचण्ड र माधव नेपालको दोस्ती भर्खरै भएको हो। यिनको चिनजान पनि भर्खरै भएको हो’, उनले भने, ‘त्यसो सोच्नुभएको छ भने त्यो गलत हो। हाम्रो दोस्ती ४० को दशकदेखि हो।’

उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, जनयुद्धका बेला आफ्नो सबैभन्दा बढी भटेघाट र संवाद हुने व्यक्ति नेपाल भएको बताए। ‘जनयुद्धका बेला पनि हामीबीच सबैभन्दा बढी संवाद हुन्थ्यो, भेटघाट हुन्थ्यो’, उनले भने, ‘त्यसको परिणाम नै १२ बुँदे हुँदै लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलन र त्यसपछि संविधान बन्यो।’

उनले नेपाललाई ओलीले जहिले पनि हेपेको आरोप लगाए। ‘यसरी कसरी पार्टी चल्थ्यो ?’, उनले भने, ‘म बालुवाटार गएको देखेर धेरैलाई रिस पनि उठ्यो होला। बिहान बालुवाटार, बेलुकी बालुवाटार, तर केपी ओली बालुवा हुनुहुँदो रहेछ। बालुवा पेलेर तेल निस्किँदैन भन्ने कुरा बुझें।’

आलोपालो अनुसार विरोधसभामा प्रमुख अतिथि रहेका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको पतनको बाटो सुरु भएको बताए। ‘ओलीको पतन निश्चित रहेको कुरा तपाईंहरूको उपस्थितिले देखाइदिएको छ’, अध्यक्ष नेपालले भने। नेपालले निर्वाचन आयोगको हालैको एक आदेशले ओलीलाई हिस्स बनाएको टिप्पणी गरे।

‘ओलीले म्यादी प्रहरीजस्तै खोलेको केन्द्रीय सदस्यमा भर्ती भएकाहरूलाई लाज भएको छ। एक मास्कले पनि लाज छोपिन्न भने उनीहरूलाई बुर्का लगाइदिनुस्’, नेपालले व्यंग्य गरे।

उनले ओली ‘गफाडी नम्बर १’ रहेको आरोप लगाए। ‘केपी ओली काम गर्नुहुन्न। सरकारका तीन वर्षमा के काम गर्नुभयो ? तर, उहाँ गफ दिन माहिर हुनुहुन्छ। उहाँ कम्युनिस्ट होइन। उहाँ कम्युनिस्ट सिध्याउन लाग्नुभएका व्यक्ति हुनुहुन्छ। उहाँ डुब्लिकेट कम्युनिस्ट हो’, उनले भने। उनले अहिले ओलीले पूर्वएमाले एक होऔं भनेर अभियान चलाएको बताए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo