काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्को रुपमा बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट समाधानको पहल सुरु भएको छ ।
बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर छलफल गरेका छन् । पार्टी एकता नै संकटमा परेपछि अध्यक्षद्वय एकै दिन राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
बिहीबार बिहान करिब ११ बजेतिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली शीतल निवास पुगेका थिए भने अध्यक्ष प्रचण्ड साँझ राष्ट्रपति निवास पुगेका हुन् ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपा विवादले नयाँ मोड लिएको छ । प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी भित्रको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने, २० गते पुनः सचिवालय बैठक बस्ने र स्थायी कमिटी बैठकको मिति सार्ने निर्णय गरेको छ ।
२० गते दिउँसो १ बजे सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफलमार्फत् पार्टी विवादलाई निष्कर्षमा पुर्याउने तयारी नेताहरुले गरेका छन् । पार्टी विवादमा अनौपचारिक छलफललाई निरन्तरता दिने बताइएको भए पनि नेताहरुबीच गुटगत छलफल मात्र भइराखेको देखिन्छ । ओली र प्रचण्ड पक्षका नेताबीच बोलचाल नै बन्द भएको सन्दर्भमा बिहीबार अध्यक्षद्वयले राष्ट्रपतिसँग गरेको भेटलाई महत्वका साथ हेरिएको छ ।
बिहीबार बिहान अध्यक्ष ओलीले शीतल निवासमा करिब दुई घण्टा राष्ट्रपतिसँग छलफल गरेका छन् । छलफलको विषयमा बालुवाटार र शीतल निवासले औपचारिक जानकारी नगराए पनि पार्टी विवाद र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
बिहान ओलीसँग लामो छलफल भएपछि साँझ प्रचण्डसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुलाई पार्टी विवादको विषयमा राष्ट्रपतिको पहलकदमीको रुपमा हेरिएको छ ।
मंसिर १६ गतेको सचिवालय बैठकको संवादले सत्तारूढ दल नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ। पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको हो। बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको थियो ।
अध्यक्ष प्रचण्डले कात्तिक २८ र प्रधानमन्त्री एवं अध्यक्ष ओलीले यही मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए। तर, ती प्रस्ताव छलफलमा लैजाने–नलैजाने कार्यसूचीकै विषयमा चर्को विवाद सचिवालय बैठकमा भएको थियो । सोही विवादका क्रममा प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा सहभागी नहुने घोषणा गरेका थिए । प्रधानन्त्री अनुपस्थित भएको बैठकले २० गतेको बैठकमा ओलीको उपस्थिति अनिवार्य हुनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपाभित्र मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ताको विषयमाथि सचिवालय बैठकमा छलफल नहुँदा विवाद चर्किएको हो । समसामयिक विषयमा छलफलका लागि सचिवालय बोलाउन पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष ओलीले वेवास्था गरेको भन्दै शीर्ष नेता ओली विरुद्ध रुष्ट छन्।अन्नपूर्णबाट





























प्रतिक्रिया