जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध छः महासचिव पोखरेल

जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध छः महासचिव पोखरेल

केन्द्रबिन्दु
12
Shares

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उन पछिल्लो एक दशकमा मधेशको विकासमा एमालेले योजनबद्ध रूपमा काम गरिरहेको बताएका हुन् ।

गत आम निर्वाचनमा मधेशका कूल प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सिट एमालेले पाएको सम्झना गर्दै यहाँका नागरिकले पार्टीले गरेको कामको उचित मूल्याङ्कन गरेर मतदान गरेको महासचिव पोखरेलको भनाइ छ ।

“मधेशमा कयौँ वर्षदेखि हुलाकी सडकको काम अलपत्र थियो, एमाले नेतृत्वको सरकारले यसलाई गति प्रदान गरेको छ, अहिले हुलाकी सडकको कामले निकै फड्को लगाइसकेको छ”, उनले भने, “मधेशका जनताको जीवनस्तर उकास्ने पार्टीले योजनाबद्ध रूपमा काम गरिरहेको छ ।”

एमाले नेतृत्वको सरकार रहेका बेला मधेशका कतिपय रुग्ण अवस्थामा रहेका आयोजना सम्पन्न भएका र कतिपयमा काम भइरहेका महासचिव पोखरेलले बताए । महोत्तरीको सन्दर्भमा जलेश्वर नगरको आधुनिक विकास, जलेश्वर–रामगोपालपुर–बर्दिबास सडकको स्तरोन्नति र जयनगर बर्दिबास रेल्वेको कामले एमाले नेतृत्वको सरकारका समयमा भएको उनको भनाइ छ ।

मधेशमा भएका कामको लेखाजोखा गरेर जनताले एमालेप्रति विश्वास बढाएका पोखरेलले बताए । “गत आमनिर्वाचनमा जनताले महोत्तरीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यलाई प्रत्यक्ष निर्वाचनमा जिताउनुभएको थियो”, उनले भने, “हालै सम्पन्न स्थानीयतह उपनिर्वाचनमा यहाँ एकमात्र वडामा भएको निर्वाचनमा पनि जनताले एमालेलाई रोज्नुभएको छ ।” यो विश्वासको जग अझ मजबुत बनाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन उनले जनतासमक्ष आग्रह गरे ।

जनसभामा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य एवं मधेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पछिल्लो समय मधेशमा योजनाबद्ध कामको थालनी भएको बताए ।

Skip This
Skip This
Logo