अखिल क्रान्तिकारीको उमेर हदले माओवादी केन्द्रलाई कस्तो पर्ला भार ?

अखिल क्रान्तिकारीको उमेर हदले माओवादी केन्द्रलाई कस्तो पर्ला भार ?

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लागू गरेको छ । अबदेखि अखिल क्रान्तिकारीको नेतृत्व गर्नका लागी ३२ वर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद लागू भएसँगै ३२ वर्ष पार गरेका विद्यार्थी नेताहरुले विद्यार्थी राजनीतिबाट सन्यास लिनुपर्ने भएकाे छ ।

उमेर हद लगाउने वा नलगाउने विषयमा लामो समयदेखि संगठनमा पक्ष र विपक्षमा विवाद हुँदै आएको थियो । गत शनिवार भएको मतदानको परिणाम अनुसार उमेर हद लागू गर्ने पक्षमा बढी मत परेको हो । उमेर हद लागू गर्ने पक्षमा ९ सय मत प्राप्त भएको थियो भने उमेर हद नलगाउने विपक्षमा ८ सय ७९ मत प्राप्त भएको थियो । पक्षमा २१ मत बढी प्राप्त भएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने निर्णयसँगै एकातिर यसलाई नयाँ अभ्यास भनेर स्वीकार गरिएको छ भने अर्काेतर्फ उमेर हदका कारण सदस्यबाट नै बाहिरिनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै विरोध गर्नेकाे पनि कमी छैन । यद्यपी उमेर हद लाग्ने निर्णयप्रति सकारात्मक रहेको अखिल क्रान्तिकारीका सदस्यहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीका विद्यार्थी नेता मदन भुलले भने उमेर हद लागू गर्ने पक्षमा नरहेको तर निर्वाचनको रिजल्ट आइसकेपछि यस निर्णयलाई आत्मसाथ गरी अगाडि बढ्ने बताए । उनले भने, ‘हाम्रो विद्यार्थी संगठनमा ३२ वर्ष नाघेका विद्यार्थी नेताहरु धेरै हुनुहुन्छ । उमेर हदका कारण ३२ वर्ष भन्दा माथिका विद्यार्थी नेताहरु विदा हुनुपर्ने भयो । तथापी निर्वाचन अगाडि विरोध गरेता पनि निर्वाचन बाट भएको मतपरिणामलाई आत्मसाथ गरेर अगाडी बढ्ने बढ्न तयार रहेको जिकीर गरे ।

त्यस्तै, अखिल क्रान्तिरीका अर्का विद्यार्थी नेता डम्बर भट्टराईले उमेर हदको कुरा सुन्दा, भन्दा राम्रो सुनिन्छ तर कुनै पनि राजनीतिक संगठन उमेरले मात्र चल्दैन, त्यसको लागि वैचारिक रुपमा सांगठनिक रुपमा, योजना, कार्यदिसा, परिपक्व नेतृत्वले निर्धारण गर्ने बताए । उमेर हदमा नपरेका सदस्य भन्दा उमेर हद लागेका सदस्यको संख्या बढी रहेको छ । यसरी हेर्दा स्थापितभन्दा विस्थावित हुने नेताहरुको संख्या बढी रहेको उनले केन्द्रिविन्दुलाई जानकारी गराए ।

अर्का विद्यार्थी नेता दिपकराज भट्टले उमेर हद लागू गर्ने निर्णय स्वीकार योग्य रहेको र अन्य विद्यार्थी संगठनले पनि उमेर हद लागू गर्न सुझाएका छन् ।

यसैगरी विद्यार्थी नेता बैजन्ती कुनवारका अनुसार राष्ट्रिय राजनीतिमा ३२ वर्ष उमेर हद उपयुक्त हो जस्तो लागेको थिएन । सबै कुरामा परिपक्व भएको साथिहरुले संगठनको नेतृत्व गर्दा संगठनको मुद्धालाई सहज रुपमा अगाडि बढाउनुपर्छ हो र पनि उमेर हद लागु गर्ने सन्दर्भमा आफू सकारात्मक रहेको बताइन् ।

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिती चयन गर्दा उमेर लाग्ने कि नलाग्ने विवादित विषयको टुंगो लागेसँगै विभिन्न पदका दाबेदारहरु बाहिरिने भएका छन् । विवादका कारण गत असोज १० गते आयोजना हुने २३औं राष्ट्रिय सम्मेलन स्थगित भएको थियो ।

अब २३ वर्षसम्मकाले मात्र प्रतिष्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरु च्यनन हुनेछ नयाँ कार्यसमीति चयनका लागी आगामी माघ १२ गते निर्वाचन कार्यक्रम छ ।

अध्यक्षको दाबेदारबाट को-को बाहिरिए ?

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रिय समिीतिको व्यबस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी वनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषध्यक्ष १जना रहने गरि प्रावधान वनाइएको छ ।
उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिए । यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिएका छन् । योसँगै निवर्तमान उपमहासचिव र उमेर हद नलागेका सदस्यहरुको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहने पक्का छ ।

को-को छन् त अध्यक्षका दाबेदार ?

३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन् । बागमतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन् ।

बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हद लागू भए गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी देखिएका छन् । यसअघि उनी सचिव भैसकेका छन् ।

त्यस्तै कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन् । सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन् । उनी अघिल्लो कमिटीमा उपमहासचिव थिइन् ।

को-को छन् महासचिवको दाबेदार ?

महासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा, लगायत आकांक्षी देखिएका छन् ।

पार्टीलाई भार

उमेर हदका कारण संगठनको विभिन्न पदका दाबेदार मात्र नभई साधारण सदस्यहरु पनि बाहिरिनु पर्ने भएको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा उमेर हदमा नपरेका भन्दा उमेर हदमा परेकाको संख्या बढी रहेको संगठनका प्रतिनिधिहरुले बताएका छन् । यति मात्र होइन विद्यार्थी राजनीतिबाट विदा भएका प्रतिनिधिहरुलाई माओवादी केन्द्रले व्यवस्थापन गर्नुपर्ने माग उनीहरुको छ, जसले गर्दा पार्टीलाई भार पर्ने निश्चित छ ।

कसले के भने ?

नेकपा माओवादीको स्थायी कमीटि सदस्य जनार्धन शर्माले (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नु पुस्तान्तरणका लागि ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको विद्यार्थी फ्राक्सन इन्चार्ज हिमाल शर्माले अखिल (क्रान्तिकारी) ले ३२ वर्षे उमेरहद लागू गर्नु ऐतिहासिक परिघटना भएको बताएका छन् । ‘विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परि घटना हो। संगठन भित्र कसैको हारजित होइन,’ अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका शर्माले भने ।

के गर्दै छन् अन्य संगठन ?

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले ३२ वर्षे उमेर हद लागु गरेको ३ वर्ष भैसकेको छ । त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले ३२ वर्ष उमेरहद लागु गर्ने विषयकस्तु स्वागतयोग्य रेहेको बताए । उनले थपे, ‘कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री २६र २७ वर्ष भित्रमा पुरा गरिसकेको हुन्छ । विद्यार्थी राजनीति मा उसले आफुलाई सावित गर्न सक्यौं । एजेण्डामा लिडरसिप गर्न सक्यौं । त्यहि अनुसार माहोल देख्यो भने पोलिटिकल करियर बनाउँछ । यदि माहोल राम्रो देखेन भने अन्य क्षेत्रमा आफ्नो करियर बनाउन सक्छ । त्यसैले उमेर हद लागु गर्ने विषयवस्तु विद्यार्थी राजनीतिमा महत्वपूर्ण छ ।’

नेवि संघ र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लागू गर्दा नेकपा एमाले निकट-अनेरास्ववियु भने समय समयमा अधिवेशन भैरहेको हुनाले स्ववियुमा उमेर हद लागू गर्न आवश्यक नरहेकाे बताउँदै आएको छ ।

Logo