राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो ।
समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी रहेका थिए ।
समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।
यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन ।
उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक विदा नदिएकोमा सरकारप्रति असन्तुष्टि पनि जनाएका छन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशललाई ग्रहण गरेर अघि बढन पनि नेताहरुलाई सर्वसाधारणको सुझाव छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उहाँको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो । पृथ्वी जयन्तिको दिन दिँदै आएको विदा कटौति गरेपनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाईरहेको छ ।
प्रतिक्रिया