काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध भएपनि सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा रहेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा दोस्रो हिउँदे अधिवेशनको बैठकलाई सम्बोधन गर्दै विभिन्न विषमा उनले सरकारलाई प्रश्नैप्रश्न तेर्स्याए । उनले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजेका थिए । सामान्यतयाः विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । त्यो परम्परा अनुसार आज वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने केही ढिलोगरी पुगेका थिए ।
प्रधानमन्त्री ओली अनुपस्थित भएपनि सरकारप्रति अध्यक्ष प्रचण्डले अध्यादेशमाथि कांग्रेसको अडान, विधेयकमा कांग्रेसको पोजिसन कस्तो ? गठबन्धनबारे कांग्रेस किन ‘गतिशील’ ? संसदमा दुई तिहाइ सरकारको घमन्ड र अहंकार सुन्नुपर्ने ? अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ?’ र संविधान संशोधन कहिले ? लगायतका कैयौं प्रश्न गरे ।
यस्ता छन् अध्यक्ष प्रचण्डका प्रश्नहरु-
१) पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो हाेइन त अध्यादेश ?
२) उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरु पनि अब विकासको हाजी हुनुभएको हो ?
३) रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईंहरुको नियत सही छैन । अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ?
४) यी अध्यादेशहरु विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ?
५) संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ?
६) स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईंहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?
७) दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ?
८) सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?
९) पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ?
१०) अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ । यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरु रु संविधानभन्दा माथि हो ? तपाईंहरु मालिक र नागरिक दास हो ?
११) अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ?
१२) २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४० दशमलव १८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुती कति कमजोर छ ?
१३) मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय
३९ अर्बले मात्र बढेको छ । यो तथ्यांकले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ ?
१४) के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरुको वैचारिकी ?
१५) अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईंहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ?
१६) अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ ….तपाईंहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ? हरेक ठाउँमा भनिरहनुपर्ने रु के शेरबहादुरजी कान सुन्नुहुन्न ?
१७) भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो ?
१८) संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन कठिन, जटिल र महंगो हुन्छ ?
१९) भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको के औचित्य छ ?
२०) पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको छ । यो हदसम्मको अराजनीतिक षडयन्त्र र जालझेल मान्य हुन्छ ?
२१) कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गर्नुभएको छ । यसबाट सुशासन कायम हुन्छ कि मुनाफाखोरहरुलाई खुला छुट पाइन्छ ?
२२) सहकारी ऐन–२०७४ लाई अध्यादेशमार्फत संशोधनको नाममा सहकारी अपचलनको समस्यालाई सम्बोधन गर्नुभएको छ कि अन्तरराष्ट्रिय सहकारी एलायन्स को ७ बुँदे सैद्वान्तिक मान्यता र नेपालको क्षेत्राधिकार विभाजनको संबैधानिक व्यबस्था भन्दा विपरित ढंगले ल्याउनुभएको छ ?
२३) सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ?
२४) स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ?
२५) तत्कालीन सेन्चुरी बैंकको अर्वौं क्रृणको दुरुपयोगको छानविन के भयो ?
२६) डिकेटेट तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट के प्रमाणित भयो ?
२७) विचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गर्नुभयो । जे गर्न सक्नुहन्थ्यो र जे गर्न हुँदैनथ्यो । यसबीचमा के भएन ?
२८) प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरुलाई बर्खास्त गरिएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ? विद्युत प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएन कि ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटकपटक स्पष्टीकरणसहित दुव्र्यवहार गरिएन कि ? पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएन कि ? त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दवाव दिइएन कि ?
२९) मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन ?
३०) सोध्न चाहन्छु, बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने रिटर्नी उद्यमशीलता कार्यक्रम के भयो ?
३१) राष्ट्रिय रोजगार बैंकका लागि सुनिश्चित गरिएको बजेट के भयो ?
३२) कम्तीमा एक लाख स्वउद्यमलाई समर्थन गर्ने तयारी के भयो ? युगौंदेखि जातीय विभेद सहेर आत्मसम्मानको सङ्घर्ष गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संविधानप्रदत्त अधिकार अनुभूतिजन्य तहमा कार्यान्वयनमा ल्याउन विशेष प्रकृतिको दलित विकास प्राधिकरण स्थापनाको निर्णय भएको थियो । त्यो किन स्थापना भएन ?
३३) दलित समुदायको सिप र पेशा आधुनिकीकरण गरी रोजगारी सुनिश्चित गर्न सिल्पी उद्यमशीलता कार्यक्रम बजेटमार्फत सुनिश्चित गरिएको थियो । त्यो किन कार्यान्वयन भएन ?
३४) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम किन रोकियो ?
३५) के भूमिहीन, दलित, महिला, श्रमिक, घाइते र अपांगका कार्यक्रम च्यातेर तपाईंहरुले प्रचण्डसँग लिइरहनुभएको हो प्रतिशोध ?
३६) प्रधानमन्त्रीजी बेलाबेला संसदको दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ?
३७) अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ ?
३८) राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ?
३९) सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारुढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्छ । सत्ताको यो तहको दुरुपयोग र मत्स्यन्यायले हामीलाई कहाँ पुर्याउला ?
४०) कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ?
४१) सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्को एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाइन्छ । यदि दोस्रो नेतालाई संगठित अपराधी मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ?
४२) कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन ?
४३) भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ?
४४) जनताको मनोविज्ञान मैले अरु नेताका तुलनामा बढी बुझेको छु भन्ने मेरो दाबी छ । सातै प्रदेशको निष्कर्ष के छ त ?
४५) अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने रु उहाँ यसमा तयार हुनुहुन्छ ?
४६) यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ ? कसरी संशोधन हुन्छ ? कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो ?
४७) नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ?
४८) आज देश बहुदलीय भएको तपाईंहरुको दया मायाले हो ?
४९) तपाईंको करुणाले बनेको हो नेकपा माओवादी केन्द्र ?
५०) तपाईंले दयाले खोलिदिएको हो कुनै बेलाको मधेशी जनअधिकार फोरम ?
५१) तपाईंहरुले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ?
५२) तपाईले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ?
५३) तपाईंहरु चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ?
५४) संविधान संशोधन नै गर्ने हो भने महिलालाई ५० प्रतिशत, जनसंख्या र विशेषधिकारका आधारमा दलितलगायतको प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं । प्रत्य क्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं । यसमा छलफल गर्न तपाईंहरु तयार हुनुहुन्छ ?
५५) जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला तर सत्तारुढ पार्टीहरुकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ तपाईंहरु ?
५६) सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरुसँग मनोवल ?
अध्यक्ष प्रचण्डले प्रश्न मात्रै गरेनन् । अधिकांश प्रश्नको जवाफ आफैंले दिएका पनि थिए । ‘सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं ऋणको दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।’ उनले भनेका थिए,’सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईंहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।’































प्रतिक्रिया