केवलकारको पक्षमा उर्लिए ताप्लेजुङवासी, गुञ्जियो ‘एस केवलकार’को नारा

केवलकारको पक्षमा उर्लिए ताप्लेजुङवासी, गुञ्जियो ‘एस केवलकार’को नारा

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केवलकार निर्माणको पक्षमा ‘एस केवलकार’ अभियान सुरु भएको छ । पछिल्लो समय राष्ट्रिय स्तरमै चर्चामा रहेको ‘नो केवलकार’ आन्दोलनकाविरुद्ध ताप्लेजुङबाट ‘एस केवलकार’ अभियान सुरु भएको हो ।

मंगलवार ताप्लेजुङमा कार्यक्रम आयोजना गरी ‘नो केवलकार’को प्रतिवाद गर्दै याक्थुम चुम्लुङ केन्द्रिय समितिका उपाध्यक्ष पदम चेञ्जी मावो लिम्बुले ‘एस केवलकार’ को नारा घन्काएका छन् । उनले उक्त कार्यक्रममा बोल्दै ताप्लेजुङको विकास र समृद्धिका लागि केवलकार बनाउन आवश्यक भएकाले ज्यानै दाउमा राख्न तयार रहेकोसमेत चेतावनी दिएका छन् ।

‘ताप्लेजुङको समृद्धि र विकासका लागि घाँटी थापेर ज्यान दिन तयार छौँ ।’ उनले भनेका थिए, ‘एक–एक जना मोसो, खुकुरी, लाठी बोकेर आएकाहरुसँग तर्सिनु हुन्नँ । जिउ र ज्यानको बलिदान दिन परे पनि केवलकार निर्माणबाट पछि हट्दैनौं ।’

ताप्लेजुङ जिल्लाको समृद्धि र विकासका लागि संसारभर चिनाउनका लागि, पहिचान बनाउनका लागि घरवार छोडेर भएपनि केवलकार निर्माणको काम सम्पन्न गरेर छोड्नुपर्ने उनको भनाइ छ ।

‘नो केवलकार’ एवं पहिचानवादी पक्षधरहरुलाई उनले प्रश्न पनि गरे, ‘हिजोको दिनमा मेन्छयायेम डाँडामा, नाहाङ्मा यकमा र तागेरा निङवाफु फक्कु जस्ता मुन्धुमी स्थलहरू उधिनेर ध्वस्त पारिँदा हामीले मुन्धुमी स्थल ध्वस्त पार्नु पाइँदैन भनी विरोध जनाइरहँदा मुक्कुमलुङ्गे क्लबका साथीहरू कता हुनुहुन्थ्यो ? त्यतिखेर चाँहि मुन्धुमी स्थल अतिक्रमण भो भनेर किन बोल्नु भएन र अर्को बिजुलीको ट्रेक लैजाँदा, सुकेटार देउराली सडकखण्ड, देउराली फावाखोला सडकखण्डमा रुख काटिँदा किन बोल्नुभएन ? तर अहिले पाथीभरा देवस्थल भन्दा १ किमि तल भीरमा केवलकार बन्दा मुन्धुमी स्थल ध्वस्त भो, अतिक्रमण भो भन्ने ?’

यसरी गलत प्रचार गरेर समाजमा भ्रम छरेर केवलकारको विरोध गर्नु आवश्यक नरहेको उनको भनाइ छ । उनले थपे, ‘तपाईंहरुले त पाथीभराको टुप्पोसमेत खाइसक्नुभयो । मुन्धुमी संस्कृतिको संरक्षण र सम्वद्र्धन कसरी गर्ने तपाईंहरु भन्दा हामीलाई राम्रोसँग आउँछ ।’

पहिचानवादी समूह अर्थात् मुक्कुमलुङे क्लवका साथीहरुले समाजमा भ्रम छरेर ताप्लेजुङको विकास र समृद्धिमा बाधा अड्चन ल्याएको उनको धारणा छ । ताप्लेजुङका स्थानीयवासीले नै ‘एस केवलकार’ को नारा घन्काएपछि पनि स्थानीयको आवाज नसुन्ने पहिचानवादीको खोल ओढ्नेहरू आफैं बढारिने केवलकार निर्माण पक्षधरहरुको भनाई छ ।

गत आइतवार केवलकार समर्थन गरेको भन्दै उपाध्यक्ष माबोमाथि मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले कालो मोसो दलेर कुटपिट गरेका थिए । धरानमा आयोजित याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनमा मोसो दलेर हातपात गरेका थिए । त्यसपछि उनले लगत्तै मंगलबार कार्यक्रम ताप्लेजुङमै कार्यक्रम गरी केवलकारको खुलेरै समर्थन गरेका हुन् ।

पाथीभरा केवलकार निर्माणले ताप्लेजुङको बजार चलायमान हुनेमात्र होइन रोजगारी र नयाँ उद्यमशीलताको विकास हुने स्थानीयदेखि निर्माण पक्षको धारणा छ । केवलकार निर्माणपछि बदाम, सुन्तला, साग, चिया र पानी बेचेरै भए पनि परिवार चलाउने अवस्था सृजना हुनसक्ने प्रवल सम्भावना छ । यस्तै आवत–जावत बढेपछि स्वभाविक रूपमा बजार प्रवद्र्धन हुने केवलकार पक्षधरहरुको आश छ ।

फुङलिङ नगरपालिकाका १० र ११ नम्बर वडा, फक्ताङलुङ गाउँपालिकाका ३ र ५ नम्बर वडा र सिरीजंघा गाउँपालिकाको ३ नम्बर वडाको संगमस्थल हो पाथीभरा । पाथीभरा केवलकार निर्माणले तीन वटै स्थानीयको विकासलाई मात्रै नभइ सम्रग देश विकासमा टेवा पुर्याउने स्थानीयहरुको धारणा छ । पाथीभरा केवलकार निर्माणको विवाद गत माग १२ गते पहिचान पक्षधर समूह र प्रहरीबीच भएको झडपमा चार जना प्रदर्शनकारीलाई गोली लागेपछि राष्ट्रियस्तरमै चर्चामा आएको थियो ।

प्रदेश नम्बर १ को कोशी नामाकरण भएपछि यसकाे विराेधमा संगठित बन्दै गएको पहिचान पक्षधरको समूहले ‘नो केवलकार’ अभियानको नेतृत्व गर्दै आइरहेको छ । केवलकार निर्माण भएपछि पहिचान संकटमा पर्ने र मुक्कुमलुङ क्षेत्रको अस्तित्व संकटमा पर्ने पहिचानवादी पक्षधरहरुको भनाइ छ । तर, याे केही व्यक्तिको निजी स्वार्थ पूर्तिका लागि राजनीतिकरण गरिएको स्थानीय र निर्माणपक्षकाे दाबी छ । विकास निर्माणका योजनामा व्यक्तिगत स्वार्थबाट माथि रहेर स्थानीयवासीको आवश्यकता पहिचान गरी योजनामा टेवा पुर्याउन आवश्यक रहेको उनीको धारणा छ ।

Logo