(रामजी बलामी)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ९ महिना पूरा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई दुई तिहाई बहुमतको समर्थन छ । सांसदको कुरा गर्ने हो भने झण्डै तीन चौथाई सांसदहरु सरकारको पक्षमा छन् । त्यसकारणमा पनि आम सर्वसाधारणले सरकारबाट निकै आशा र अपेक्षा राखेका छन् । तर पछिल्लो समय सरकार आलोचनाबाट मुक्त हुन सकेको छैन ।
सत्ताधारी दल नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा सरकारी उपलब्धीहरुको सूचि प्रस्तुत गरेको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली तथा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले पेश गरेको प्रतिवेदनमा सरकारका उपलब्धीहरुलाई सूचिबद्ध गरिएको हो । जसमा मोदीको तारन्तार नेपाल भ्रमणदेखि तोड्न नसकिएको सिण्डकेटलाई समेत उपलब्धी मानिएको छ ।
के के छन् उपलब्धी ?
१. बृहत्तर सहमति
नेकपाले संघीय समाजवादी फोरमसँग गरेको सहमतिलाई उपलब्धी मानेको छ । सरकारको नीति तथा कार्यक्रमको पक्षमा सर्वसम्मति कायम गर्नु र दर्जनभन्दा बढी विधेयकहरु सर्वसम्मतरुपमा पारित गर्नुलाई उपलब्धीको रुपमा ब्याख्या गरिएको छ । त्यसैगरी संविधान संशोधनको पक्षमा रहेका राजनीतिक पार्टीहरुसँग नियमित सम्पर्कमा रहेर संवाद गरेको, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई विरोधका लागि विरोध नगर्न आग्रह गरेको, संवैधानिक प्रक्रियाभन्दा बाहिर रहेका समुहहरुलाई वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको लगायतलाई सरकारी उपलब्धी मानेको छ ।
२. संघीयता कार्यान्वयन
केही दिन अघि प्रदेश मन्त्रीहरुले स्रोत साधनको अभावमा स्थानीय निकायहरुले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसामु गुनासो पोखेका थिए । तर नेकपाले भने सरकारको उपलब्धीहरुको सूचिमा ‘संघीयता कार्यान्वयनका निमित्त आवश्यक स्रोतसाधनको व्यवस्था गरेको’ भनेर उल्लेख गरेको छ ।
‘कर्मचारीहरुको व्यवस्थापन, बजेट बिनियोजन, नमूना कानुनहरुको निर्माण र अन्य आवश्यक प्रवन्धहरुमार्फत तीनै तहका सरकार संचालनको न्यूनतम आधार बनाउन निर्माण गरिएका छन् ।’ नेकपाले भनेको छ ।
३. बाह्य सम्वन्ध सुधार
यो सरकार गठन हुनुअघिसम्म नेपालको बाह्य सम्बन्ध समस्याग्रस्त अवस्थामा रहेको नेकपाको ठहर छ । त्यसयता नेपाल भारत र नेपाल चीनबीचको सम्बन्धमा निकै सुधार आएको भन्दै त्यसलाई सरकारको उपलब्धी भनेको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नु र भारतीय प्रधानमन्त्रीले दुई पटक नेपालको भ्रमण गर्नुलाई पनि नेकपाले उच्च उपलब्धी ठानेको छ । भारतसँग भएको डुबान, कृषि उत्पादनहरुको निकासी, नयाँ हवाई प्रवेश बिन्दु, वाणिज्य र पारवाहन सन्धी पुनरावलोकन, टनकपुर लिंक रोड र नहर, काठमाडौं रक्सौल रेलमार्ग, कृषिमा साझेदारी, लगायतका सहमतिहरु कार्यान्वयनको क्रममा रहेको, विराटनगरको भारतीय फिल्ड अफिस बन्द गरिएको, १९५० को सन्धी लगायतका विषयमा सहमति भई प्रतिवेदन तयार गरिएको लगायतका उपलब्धीहरु रहेका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलकिो चीन भ्रमण र त्यस क्रममा भएका सम्झौताहरु हिमालय वारपार वहुआयामिक यातायात सञ्जालको अवधारणा अन्तर्गत भएको रेलमार्ग, राजमार्ग, बन्दरगाह, हवाई यातायात, सूचना सञ्जाल, सीमा वारपार विद्युतीय प्रसारण लाइनलगायतका समझदारीहरुले नेपाल चीनबीचको सम्बन्धमा नयाँ आयात स्थापित भएको नेकपाको दावी छ । प्रतिवेदनमा नेपालले अब ८ वटा उत्तरी नाका हुँदै चीनको जुनसुकै मार्ग प्रयोग गरी ४ उता सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने भन्दै गर्व गरिएको छ । त्यस्ते नेपाल भूपरिवेष्ठित अवस्थाबाट भूजडित अवस्थामा पुगेको बताएको छ । त्यसैगरी बिमस्टेक सम्मेलन र मलेसियासँग भएको श्रम सम्झौतालाई मुख्य उपलब्धीको रुपमा लिएको छ ।
४. कानून निर्माण
मौलिक अधिकार सम्बन्धित १६ वटा कानुनहरु निर्माण हुनु, फौजदारी संहिता र देवानी संहिता कार्यान्वयनमा ल्याउनु लगायतलाई सरकारको ठूलो उपलब्धीका रुपमा लिइएको छ ।
५. सामाजिक सुरक्षा
नेपाल कम्युनिष्ट पार्टीले मंसिर ११ गतेबाट कार्यान्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ऐतिहासिक र जनमुखी उपलब्धी भनेको छ । ‘राज्यको चरित्रलाई समाजवाद उन्मुख र लोक कल्याणकारी बनाउन यसले ठूलो भूमिका खेल्ने छ ।’ नेकपाले लेखेको छ ।
६. सिण्डिकेट अन्त्य
सरकारले सिण्डिकेट अन्त्य गर्ने भन्दै हस्तक्षेप सुरु गरेको थियो । तर यातायात व्यवसायीको तिव्र दवावपछि सरकार विस्तारै विस्तारै पछि हट्दै गएको छ । सरकारले कम्पनीमा दर्ता हुन यातायात व्यवसायीलाई मंसिर मसान्तसम्ममा समय दिइएको थियो तर अटेर गरेपछि सरकार नै पछि हटेर पुन ३ महिना म्याद थपेको छ ।
नेकपाले भने सरकारले सिण्डिकेट अन्त्य गरेको भन्दै उपलब्धीका रुपमा सूचिबद्ध गरेको छ । त्यस्तै गरी सुन तस्करीको जोलोमाथि प्रहार गरिएको भन्दै सरकारी कामको प्रशंसा गरिएको छ । यद्यपि उच्च स्रोतका अनुसार साढे ३३ किलो सुन काण्डको फाइल प्रधानमन्त्रीको कार्यालयमा पुगेर अड्किएको छ ।
७. विद्यार्थी भर्ना अभियानदेखि पचिय पत्रसम्म
नेकपाले विद्यालय जान नपाएका २ लाख ५६ हजार विद्यार्थीलाई यसै बर्ष मात्रै विद्यालय भर्ना गरेको दावी गरेको छ । यस कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्री तथा सांसदहरुले विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका थिए । त्यस्तै स्वास्थ्य बिमा योजना लागु गर्ने, राष्ट्रिय परिचय पत्र वितरण गर्ने लगायतका भावि कार्यक्रमहरुलाई पनि नेकपाले उपलब्धी ठानेको छ ।
यस्तै एक बर्षभित्र पुनर्निमाणको काम सक्ने, दुई बर्षभित्र पुरातात्विक संरचना, विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालय बनाई सक्ने लगायतका संकल्पहरुलाई पनि उपलब्धीको सूचिमा समावेश गरिएको छ । त्यस्तै आन्तरिक विमानस्थलहरुको पुनः संचालन, द्रूत मार्गको काम, डोल्पा जिल्ला राष्टिय सडक सञ्जलमा जोडिएको जनाएको छ ।





























प्रतिक्रिया