काठमाडौं । शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज २५औं दिन पनि जारी राख्ने भएका छन् ।
आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षक–कर्मचारीहरु निरन्तर आन्दोलनमा रहेका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरु वार कि पारको लडाईंमा रहेको बताएका छन् । ‘आन्दोलन आफैंमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाईंमा छौं भन्ने बुझिदिनुहोला ।’ उनले भने, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’
विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरु ऐन जारी नभएसम्म सडक नछाड्ने अडानमा छन् ।
शिक्षकहरूले सडक नछाड्दा नयाँ शैक्षिक सत्रको भर्नादेखि पठनपाठन नै सुरु हुन सकेको छैन भने ११ वैशाखदेखि गर्ने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । एसइई परीक्षाको उत्तरपुस्तिका जाँच भएको छैन र नतिजा आउन विलम्ब हुने पक्का छ ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका शिक्षक नेताहरू गेटबाटै फर्किएपछि झनै माहोल बिग्रिएको होकी भन्ने आशंका पनि उब्जिएको छ । छलफलमा बोलाएर भित्र छिर्न नदिएपछि गेटबाटै फर्किएको पाइएको छ ।































प्रतिक्रिया