नेताहरु सरकारकाे दिन गन्तीमै मग्न, जनता हेरेको हेर्‍यै !

नेताहरु सरकारकाे दिन गन्तीमै मग्न, जनता हेरेको हेर्‍यै !


काठमाडाैं । यो साता नेपालको राजनीति गठबन्धनको स्थिरतामा केन्द्रित रह्यो । कोहीमा सरकार ढल्ला कि भन्ने चिन्ता छ भने कोहीमा सत्तामा पुग्न पाइन्छ कि भन्ने आशक्ति छ । कोही यो व्यवस्था नै उल्ट्याउन लागिपरेका छन् । यसरी राजनीतिक व्यक्तित्वहरुबीच नै द्वन्द चलिरहँदा जनताको मुद्धा भने ओझेलमा परेका छन् । आज हामी यो सातामा भएका प्रमुख राजनीतिक गतिविधीबारे जानकारी गराउने छौं ।

अब कुरा गरौं, गएको शनिबारको । तीन राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शीर्ष नेताहरू केपी ओली‚ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले गणतन्त्र पक्षधरवादी शक्तिहरू एकै ठाउँमा उभिने ऐक्यबद्धता जनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

यता राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरे । ‘जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त ? २०८२ सालको जेठको १५ गते हुन्छ ।’ गुरुङले भने ।

सिंहदरबारभित्रै राजावादीहरुको नाराबाजी र गिरफ्तारी

आइतबार– पूर्वराजा ज्ञानेन्द्र शाहसँग उनकै निवासमा भेटवार्ता गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ७ गते सरकारले निषेधित गरेको क्षेत्रमा प्रदर्शन ग¥यो । अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपाका उच्च पदस्थ व्यक्तिहरुले सिंहदरबारभित्रै नारावाजी गरेपछि पक्राउ परे । प्रहरीले अध्यक्ष लिङ्देनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाहीलगायत ७ जनालाई पक्राउ गरेको थियो। यद्यपी पक्राउ परेको ४ घण्टापछि रिहा भएका थिए ।

रिहा भएलगत्तै सञ्चारकर्मीसँग अध्यक्ष लिङदेनले आन्दोलन जारी राख्ने घोषणा गरे।
उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए ।

शिक्षामन्त्री भट्टराईको राजीनामा

सोमबार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा दिएकी थिइन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा दिएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुशासन प्रवर्द्धनका प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय पनि गरेको थियो । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका प्रतिनिधि सदस्य रहनेछन्।

देशमा भ्रष्टाचार मौलाएको छ, सुशासनको मुख्य बाधक बनेको छ । जनता विकास चाहन्छन्, तर सत्तासिन दलहरु निराशाको खेती गरिरहेका छन् । राजनीतिक वृत्त र नागरिक समाजले सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने आवाज उठिरहेको छ । तर, यस्ता आवाजलाई सम्बोधन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेका हुन् ।

प्रचण्डलक्षित विप्लपको प्रश्न, दलीय व्यवस्थामा कति पटक अध्यक्ष बन्ने ?

मंगलबार– नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका छन् ।

‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौँ‚’ उनले भने, ‘उहाँहरुले हामीलाई हेर्नु हुँदैन र ? एकचोटि गर हामी साथ दिन्छौँ भन्नु हुँदैन र उहाँहरुले? सधैँ आफैँ हुनुपर्छ र ? त्यो के अर्को राजतन्त्र भएन र ? दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने ? कति वर्ष महासचिव हुने ?’

शिक्षक आन्दोलन साम्य पार्ने जिम्मा शिक्षामन्त्रीको काँधमा

बुधबार – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा एमालेका सांसद रघुजी पन्त नियुक्त भए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । उनी पार्टीको कानुन, सामाजिक सेवा, प्रचार विभाग हुँदै हाल संस्कृति विभाग प्रमुख छन्। २०७९ मंसिरको चुनावबाट उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य छन्। आन्दोलनरत शिक्षकहरुको चित्त बुझाउने जिम्मा अब उनकै काँधमा आएको छ ।

यता ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भए । कांग्रेस पार्टी राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो । तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए । आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीले तामाङलाई बर्खास्त गरेको चर्चा चलेको थियो ।

ओलीलाई सरकारभन्दा मिसन ८४ को चिन्ता, परिआए सरकारबाट बाहिरिने मुडमा गगन

बिहीबार– काठमाडौंमा बिहीबार एमालेले गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार के हुन्छ भन्दा पनि २०८४ को चुनावमा एमालेलाई पहिलो शक्ति कसरी बनाउने भन्नेबारे चिन्ता गर्न आग्रह गरे । ‘एमाले र कांग्रेसको स्थिरता र संकल्पको साथ यो सरकार बनेको हो । यो सरकारले स्थिरता र स्थायित्व दिन्छ । तर हामीले सरकारकोबारे चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्छ । सरकार बनाउँ र बचाउँ भनेर एमाले धेरै कराएको छैन’, ओलीले भने ।

सोहीदिन लोकतन्त्र दिवसकै अवसरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिआए सरकारबाट बाहिरिने चेतावनी दिए । ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ। यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’ उनले भनेका थिए ।

यसैगरी नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार ग्रहण गर्दै आन्दोलनरत शिक्षकका माग वार्ताबाटै समाधान गर्ने बताएका छन् । उनले भने ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु। यो समस्याको बारेमा जानकार त छु। तर मन्त्रालयको प्रशासन, अरु साथीहरूले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ। म उहाँहरूलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन। त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन। भइरहेका प्रयत्नहरु बुझौँ अनि भन्न सकिन्छ। अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ। म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु। मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ।’

यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले वडा नं २८ मा बनिरहेको काठमाडौं टावरको भवन नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटीहरू भेटिएका खुलासा गरेका छन् । महानगरलाई झण्डै एक अर्बको आर्थिक क्षति र्पुयाइ केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका उनले उल्लेख गरेका छन । यसका विभिन्न प्रमाण महानगरमा सुरक्षित रहेका र चाहिएमा हरेक नागरिकले सूचनाको हक प्रयोग गरेर लैजान सक्ने मेयर बालेनले बताएका छन् ।

ओली राजीनाका दिन गन्दै, देउवा ‘पर्ख र हेर’को अवस्थामा

शुक्रबार – प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । ‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।

सरकार नफेरिने दाबी गर्दै ओलीलाई देउवाले पनि साथ दिँदै आइरहेका छन् । शुक्रवार थाइल्याण्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ उनले भने,‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई ।’

शुक्रवारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो दिनमा सरकार फेरबदलका कुरादेखि गत चैत तीनकुनेमा भएको हिसांत्मक घटनाको विषयले चर्चा पाएको थियो ।

Logo