काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकीकरण हुँदैछ ।
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको छ । नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ ।
यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह ढकिया, कलेजी रङ्गमा ढकिया राख्नेगरी पार्टीको झन्डा राख्ने विषयमा लगभग सहमति भइसकेको छ ।
एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नाउपाले तीन र नाउपाको समर्थनमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । अहिले नाउपासँग प्रत्यक्ष निर्वाचन जितेका चार सांसद भएपनि ‘थ्रेशहोल्ड’ भने कटाउन सकेन ।
प्रत्यक्ष रुपमा १ सीट जितेको जनमतले भने ‘थ्रेशहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बनेको हो । जनमतले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षबाट एक सीट जितेको थियो । जनमत अध्यक्ष राउत सप्तरी -२ बाट निर्वाचित भएका थिए । जनमतले समानुपातिकमा ‘थ्रेशहोल्ड’ कटाएकाले पाँच सीट थपिएका थिए । जनमतका ६ सांसद छन् ।
राष्ट्रिय पार्टी बनेकै कारण पनि नागरिक जनमत पार्टीको अध्यक्षको जिम्मेवारी राउतले पाएका छन् । नाउपाका संरक्षक चौधरीलाई नयाँ दलको अध्यक्षका लागि निर्वाचन आयोगले नै चौधरीलाई अनुमति दिएन । यसकारण चौधरी नयाँ दलको पहिलो वरियतासहित संरक्षक रहने भएका हुन् ।
जनमतका प्रवक्ता शरद सिंह यादवका अनुसार नागरिक जनमत पार्टी (नाजपा)का लागि पदीय जिम्मेवारी बाँडफाँडसमेत गरिएको छ । नाजपाको अध्यक्षमा राउत, सहअध्यक्षमा श्रेष्ठ र संरक्षकमा चौधरी रहने विषयलाई उल्लेख गर्दै सिंहले नयाँ पार्टी नाजपाको सचिवालय, केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समिति रहने बताए ।
सचिवालय २५ जना रहने छन् जसमध्ये जनमतका १२ र नाउपाबाट १२ जना रहनेछन् ।
सिंहका अनुसार केन्द्रीय कार्यकारिणी समिति १०० जनाकाे हुन्छ र ५०/५० जना जनमत र नाउपाबाट नियुक्त गरिन्छ । यस्तै, केन्द्रिय समितिको हकमा पनि ७०० जना रहनेछन्। त्यसमा पनि नाउपा र जनमतबाट ३५०/३५० जना नियुक्त गरिनेछ ।
चितवन मोरङ हुँदै झापासम्म अध्यक्ष राउतले नै हेर्ने र चितवनदेखि कर्णाली हुँदै कञ्चनपुरसम्म संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठले हेर्ने विषयमा छलफल भएको पनि उनले बताए ।
यस्तै, पार्टी एकतापछि नागरिक जनमत पार्टीले सात प्रदेशमध्ये ३–३ वटामा दुई पार्टीले नेतृत्व गर्नेछन् । जसमा सदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नाउपाले नेतृत्व गर्ने छ भने कोशी, मधेश र गण्डकी जनमत पार्टीले नेतृत्व गर्नेछ । बागमतीमा भने दुई अध्यक्ष बनाइने गरी छलफल भएको सिंहले बताए ।































प्रतिक्रिया