काठमाडौं । कानून , न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रालयले २१४ वटा ऐन बनाइसकेको बताएका छन् ।
विधायिकी अन्तरसम्बन्ध र कानुनको मापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले तीनै तहले आफ्नो आवश्यकता अनुसार कानूनबनाउने कुरा, ऐन बनाउने कुरा संविधानमै तोकिएकोले ती कानूनहरु बनाउन मन्त्रालय सक्रिय रहेको बताएका हुन् ।
उनले भने, ‘तीनै तहले आफ्नो आवश्यकता अनुसार कानून बनाउने कुरा, ऐन बनाउने कुरा तोकिएको छ । ती कानुनहरु जसमा संघीय कानुनहरुसँग एक अर्काको अधिकारसँग बाझिनु हुँदैन भन्ने कुरा पनि संविधानले व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानिय तहको अन्तरसम्बन्ध सम्बन्धि कुरा छ ती सम्बन्धमा कानून बनाउने कुरा छ, ती कानुनहरु कानुन मन्त्रालयले पनि बनाउने कार्य गरिरहेको छ । कानून मन्त्रालयले संविधान जारी भएपछि २१४ वटा ऐन बनाई सकेको छ । आवश्यकता अनुसार थप कानूनहरु बनाउने व्यवस्थामा हामी लागेका छौं ।’
साथै, उनले कानून बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानून बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानिय तह सम्बन्धी कानून बनाउनुपर्ने बताए ।
उनले भने, ‘कानून बनाउने कुरा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्छ । कानून बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेशसम्बन्धी कानुन बनाउनुपर्यो । अन्तरसम्बन्ध सम्बन्धी कानुन बनाउनुपर्यो, स्थानीय तह सम्बन्धी कानुन केही बनाउनुपर्यो ।’































प्रतिक्रिया