काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिलेको नेपाली समाजमा दुई किसिमका समस्याहरु छन् । एउटा वर्गीय समस्या अर्को जातिय समस्या । हामी क्रान्तिकारी हामी कम्युनिष्टहरुले वर्गीय समस्यालाई, वर्गीय अन्तर विरोधलाई, वर्गीय शोषण र उत्पिडनलाई कसरी हल गर्ने भन्ने कुरामा पनि ध्यान पुर्याउँछौं । सँगसँगै जातिय उत्पिडनलाई, जातिय दमनलाई, जातिय भेद्भावलाई पनि हामी उत्तिकै महत्व दिन्छौं । यी दुईटै समस्याले हाम्रो समाज ग्रस्त छ । नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउनुपर्छ । सिंगो मानव जाति एक हुनुपर्दछ ।’
साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए ।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ । अहिले राजावादी शक्तिहरुले टाउको उठाउन खोजेका छन् । झण्डै उनीहरु हावी होलान् की भन्ने भैइसक्या थियो । त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चार वटा वामपन्थी पार्टीहरु एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेण्डा, यो संविधान जोगाउने एजेण्डा, यो गणतन्त्र बचाउने एजेण्डा ।’
अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालाई अगाडि बढाउने स्पष्ट पारे । उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए । उनले अरूलाई सिध्याएर नभइ, प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताउँदै पार्टीको भूमिकालाई अझ सशक्त बनाउन कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गरे ।
उनले भने, ‘हाम्रो चुप लागेर बस्ने पार्टी होइन । बहुदलिय प्रतिस्पर्धाबाटै अगाडि बढ्छौं, निर्दलिय, एकदलिय शासनको पक्षमा हुने छैनौं, प्रतिस्पर्धामा चुनौति दिन्छौं, विचार,व्यवहारको प्रतिस्पर्धा र जनताको समस्यालाई सम्बोधन गर्ने प्रतिस्पर्धामा यी सबै कामहरुबाट आफ्नो श्रेष्टता हासिल गर्छौँ । अरुलाई सिध्याएर होइन,अरुलाई पराजित गरेर काम गतिवधि र व्यवहारबाट हाम्रो योग्यता देखाएर जनताको मन जित्छौं, जनताको विश्वास जित्छौं । गणतन्त्रमाथि जब खतरा आयो अरुले मत्तलब राखेनन् । हामीले चासो राख्यौं । हाम्रो पार्टी सानो छ, कमजोर छ भन्ने पराजित मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।’





























प्रतिक्रिया