काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँंदै आएको छ ।’
जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा उनले व्यक्त गरे ।
‘लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न’, उनले भने ।
राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए ।
पारदर्शिता र जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो । उनले सार्वजनिक सूचनामा नागरिकको पहुँचले वेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहिनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्नेछ भने । ‘त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो’, राष्ट्रपति पौडेलले भने ।































प्रतिक्रिया