रेशम चौधरी पक्राउको विषयले सदनमा हलचल, नाउपा र जनमतले दिए सरकार छाड्ने चेतावनी

रेशम चौधरी पक्राउको विषयले सदनमा हलचल, नाउपा र जनमतले दिए सरकार छाड्ने चेतावनी

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा नाउपाका सांसदहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नाउपाका सांसदहरुले संरक्षक चौधरीलाई पक्राउ गरेको विषयमा प्रधानमन्त्रीले जवाफ दिएनन् भने सदन अवरुद्ध गर्नेदेखि सरकारबाट बाहिरिनेसम्म चेतावनी दिएका हुन् ।

नाउपाका सांसद लालविर चौधरीले सदनमा बोल्दै सरकार छाड्ने चेतावनी दिएका छन् । चौधरीलाई एकाएक गरिएको पक्राउ प्रकरणमा सरकार मौन रहेको बताउँदै भोलिसम्म प्रधानमन्त्री वा गृहमन्त्रीले कुनै जवाफ नदिए सरकार छाड्ने उनले चेतावनी दिएका हुन् ।

‘रेशम चौधरीलाई पक्राउ गर्न अधिकृत महिमानसिंह विष्टले काटेको पत्र सर्वोच्चले फर्जी भनेको छ। तर यतिबेलासम्म सरकारको कहीं कतै अभिव्यक्ति आएको छैन,’ उनले भने,‘भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुनेछौं ।’

यस्तै, नाउपाका सांसद गंगाराम चौधरीले नेपालको कानुन दैवले जानुन भन्दै यहाँ कानुन छ र भनेर सुरुवातीमै प्रश्न गरे । संरक्षक चौधरी पक्राउ परेको विषयलाई लक्षित गर्दै चौधरीले भने ठुलाले जे गरेपनि कानुन नलाग्ने र सानाले केहि नगरेपनि कानुन लाग्ने रहेको बताए ।

थारुको नेतालाई पक्राउ गरेर थारुमाथि दमन गरेको उनकाे आरोप थियाे । सर्वाेच्च अदालतका एक कर्मचारी महिमानसिंह विष्ट काटेको फर्जी पत्रले संरक्षक चौधरी ४ घण्टा जेलमा बस्नुपर्‍यो ।

‘राजादेखि राणाकालसम्म यस्तो घटना घटेको छैन । यसमा राजनीति हस्तक्षेप देखियो। यात पत्र काट्ने व्यक्ति मानसिक रुपमा ठिक छैन् भन्ने पुष्टि गर्नुपर्‍यो । हैन भने सरकारले यसको छानविन गर्नुपर्‍यो । यसमा छानविन भएभने भोलीको मितिदेखि सरकारबाट बाहिरिने र सदन अवरोध गर्छाै ।’ उनले भने ।

सत्तारुढ दल जनमतका नेता तथा सांसद अब्दुल खानले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा बलियो सरकारले संरक्षक चौधरीलाई विना कारण राजनीतिक प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको बताएका छन् ।

उनले चौधरी पक्राउको विषयमा अनुसन्धान गरी प्रधानमन्त्रीले सदनमा जवाफ दिन माग गरेका छन् ।

चौधरी पक्राउ प्रकरणको विषयलाई उदृत गर्दै सरकार बलियो भनेर सदनमा वकालत गर्दै गर्दा बलियो सरकार, बलियो सरकार, के को लागि बलियो सरकार ? भन्दै उनले प्रश्न गरे ।

अंकगणितका हिसाबले बलियो सरकार देखिएपनि जवाफदेहिताको विषयमा सरकार बलियो नदेखिएको उनले टिप्पणी समेत गरे । यती मात्रै हैन, उनले एउटा अनधिकृत पत्रका आधारमा चौधरीलाई पक्राउ गरेको विषय सामान्य नभएको भन्दै भत्र्सना गरे।

सरकारले नै आममाफी दिएर रिहा भएका चौधरीलाई सरकारले पुनः पक्राउ गरेपछि थारुलगायतका सीमान्तकृत वर्गमा नराम्रो प्रभाव परेको गुनासो गरे ।

उक्त विषयमा नाउपाका सांसदहरुले मात्रै आवाज उठाएनन्, नाउपासँग एकीकरणका लागि तयार रहेको जनमत पार्टीका सांसदहरुले पनि चौधरी प्रकाउको विषयमा जोडतोडका साथ आवाज उठाए।

तर आश्चार्यजक कुरा के रह्यो भन्दा चौधरीको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आवाज उठाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले रेशम चौधरीको पक्राउप्रति न्यायिक छानिबन माग गरेका छन् । उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु ।’ यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेपछि भाँडिएकाे थियाे ।

Logo