काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्न संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारकर्मीसँग रिसाएको भिडियो यतिबेला चर्चामा छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची थियो । र सोही अनुसार प्रधानमन्त्री ओली संसद् भवन परिसरमा पुग्दै गर्दा सञ्चारकर्मीले घेरेका थिए। त्यहाँ बाक्लै सञ्चारकर्मीको उपस्थिति थियो।
प्रधानमन्त्री ओली हँसमुख मुद्रामै सबैलाई नमस्कार गर्दै अगाडि बढिरहेका थिए। त्यति नै बेला एकजना सञ्चारकर्मीले उनलाई ‘भाजपा नेता विजय चौथाइवालेको भ्रमणपछि माओवादीसँगको सम्बन्ध अलि मिलेको हो ?’ भन्दै प्रश्न गरे।
यो प्रश्नबाट प्रधानमन्त्री ओली भड्किए । संसद भवन छिर्ने सिँढीतर्फको भाग देखाउँदै उनले भने ‘यतापट्टि छेक्नुहोस् न! तरिका हुन्छ नि तपाईंहरूको नि!’ यति भन्दै उनी सरासर भित्र पसे ।
तर, पत्रकारहरूले माओवादीसँगको सम्बन्ध सुध्रिएको हो भनेर प्रश्न गर्दा चिढिएका प्रधानमन्त्री ओलीकाे संसद बैठकमा भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अरु बेलाको भन्दा सौहार्दता देखिएकाे थियाे ।





























प्रतिक्रिया