मैले अन्य नेताहरूलाई पनि भन्दै आएको छु, बुढेसकाल लागेपछि राजनीतिबाट अवकास लिनुपर्छ । तर, कसैले नमाने पनि मैले राजनीतिमा योग्दान पुर्याउन नसकेपछि अवकाश लिएर साहित्यतर्फ लागेँ । अहिलेसम्म नराम्रो काम गरिस् भनेर कसैले भनेन । काम गर्दै जाँदा सानातिना कमजोरी भए होलान् ।
वामदेव गौतमले सल्लाकार बस भनेर उक्त भूमिकामा बस्दा धेरै नकारात्मक विषय औँल्याए । त्यो बेला सल्लाकार नबस्नुपथ्र्यो जस्तो अहिले आएर लाग्छ । चार वटा मन्त्रालयमा मन्त्री भएर काम गरे । तर, एक रुपैयाँ कसैबाट घुस लिइनँ । पूर्वमन्त्री भएको नाताले अरू मन्त्रीहरूले सुरक्षाकर्मी पनि साथमा लिए ।
तर, मैले मेरा लागि सुरक्षाकर्मी आवश्यक छैन भनेर सुरक्षाकर्मी पनि लिइनँ । साहित्य लेख्दा माओवादीको मार्ने लिस्टमा मेरो पनि नाम थियो । त्यो बेला भक्त बहादुर श्रेष्ठले मलाई जो सुकैलाई नभेट्नु, भेट्नु परेको खण्डमा मलाई सोधेर भेट्नु भन्नु भएको थियो । माधव नेपालले पनि के–के लेख्नु भएछ यस्तो कुरा आएको छ भनेर सुनाउनु भएको थियो ।
त्यो बेला ३ महिमा जति सुरक्षाकर्मी साथ दिए । तर, मार्ने भए जसरी नि मारिहाल्छ नि भन्ने ठम्याई गरी उक्त सुरक्षाकर्मीलाई पनि बिदाइ दिएँ । म राजनीतिमा लागेपछि राम्रो साहित्यकार भएर निस्किएँ । किनभने नेपाल घुमे र यस्ता मान्छे देखे, जसले मेरो साहित्यलाई बलियो बनायो ।
मेरो श्रीमतीले ३१ वर्ष निजी स्कुल चलाइन् । मेरै कारणले धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने भएकाले कमाइ कमै भयो । तर, हामी सन्तुष्ट थियौं । म घर बाहिर बाहिरै भएकाले मेरै छोरीले मलाई अङ्कल भन्थिन् । म तेरो बाबु हुँ भन्न चिनाउन ६ महिना लाग्यो । पछि उसले बुझ्दै गइन् र सबै राजनीतिको कारणले गर्दा रहेछ भन्ने थाहा पाएपछि छोरी राजनीतिमा लाग्न चाहिनन् ।
म कसैलाई कर गर्दिनँ । उसलाई मैले जुन बाटो ठिक लाग्छ त्यही बाटोमा सहि तरिकाले हिँड्नु भनेर भन्दै आएको थिए । आफ्नो सन्तान राजनीति गरोस् र कुनै तहमा पुगोस् भन्न इच्छा मैले पनि कहिले राखिन् । पारिश्रमिकको लागि पत्रिकालाई लेख पठाए । मन्त्री हुँदा एक जना व्यापारीसँग पनि राम्रोसँग मेरो चिनजान भएन । कसैसँग माग्दा पनि मागिन ।
त्यसैले होला, म गुमनाम भएँ तर, बदनाम भइनँ । यदि मदन भण्डारी थिएनन् भने कम्युनिस्ट आन्दोलन यहाँसम्म आउँदैन थियो । माले धार जतिसुकै बहुमत भएपनि अर्कोसँग डराउँदैन ।
(दिवंगत वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालसँग केही वर्षअघि गरेको कुराकानीमा आधारित । ७१ वर्षको उमेरमा नर्भिक अस्पताल, काठमाडौंमा उपचारको क्रममा दिउँसो सवा ४ बजे उनले अन्तिम सास फेरे । उनी केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित थिए ।)





























प्रतिक्रिया