‘राजनीति गर्दागर्दै मन्त्री हुनु मेरा लागि केवल संयोग मात्रै थियो। म मूलतः लेखक सन्जय थापा नै हुँ ।’ यही एउटा वाक्यले आफ्नो जीवनदर्शनलाई सरल र स्पष्ट बनाएका वामपन्थी नेता प्रदीप नेपाल अब हामीमाझ रहेनन् । तर उनका सरल जिवनशैली, प्रखर आवाज एवम् चेतनशील स्वभाव भने कहिल्यै हराउने छैनन् ।
एक स्वतन्त्र लेखक, बौद्धिक चिन्तक र निर्भीक्क वक्ता तथा साहित्यकारको रुपमा परिचित नेता नेपालको मंगलबार निधन भएको छ । उनी पार्किन्सन नामक रोगबाट पीडित भएर केही वर्षयता सक्रियता कम गरेका थिए । उनको देहत्यागका खबरले नेपाली राजनीति, प्रगतिशिल साहित्य जगत र सिंगो सञ्चार क्षेत्रमा एकसाथ पराकम्पन्न गए जस्तो महसुस भएको थियो ।
माला, सलामी र झन्डााविहीन अन्त्येष्टिको चाहना राखी ‘ईच्छापत्र’ लेख्ने साम्यवादी नेता नेपाल, नेपाल कम्युनिष्ट राजनीतिका संस्थापक नेता थिए । उनको अर्को बिशिष्ट परिचय भने पञ्चायतकालमा सञ्जय थापाको नाममा लेख लेख्ने साहित्यकारको पनि छ ।
८ पुस २०१० मा भोजपुरको गोगने गाउँमा जन्मिएका नेता नेपाल, २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुवात गर्दै २०५१ सालको पहिलो कम्युनिष्ट सरकारमै सञ्चारमन्त्री भई काम गरे र परिवर्तणका सुत्रधार संगै साक्षी पनि भए । पटक पटक मन्त्री भएपनि सत्तामोह नराख्ने, गुण र दोषका आधारमा प्रशंसा र आलोचना गर्ने तथा बाह्य तामझाम भन्दा चेतनाको स्वतन्त्रतालाई प्राथमिकता दिने खालका प्रगतिवादी वैचारिक मान्यता राख्ने दृढ स्वभावका व्यक्तिका रुपमा चिनिँदै आएका थिए ।
एमालेका प्रचार बिभाग प्रमुख, प्रवक्ता लगायतका भुमिकामा रहेका उनको सञ्चार जगत संग राम्राे सम्बन्ध रहन्थ्यो । राजनीतिका समसामयिक विषयमा उनले नियमित लेख लेख्ने गरेका थिए । अधिकांशले उनलाई कम्युनिष्ट पार्टीका नेता, स्थायी कमिटी सदस्य, कैयौँ पटकका सांसद र मन्त्रीका रुपमा चिनेपनि उनी मूलतः एक शालिन लेखक थिए ।
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक खालका विशेष्ता उनीमा पाइन्थ्यो । सञ्जय थापाको रुपमा जसले ‘मुक्त आकाशको खोजीमा’ लेख्दै पञ्चायती सत्ताको पर्खाललाई ध्वस्त पार्ने विचारको सुरुङ खने । उनका कृति विचार, विद्रोह र विवेकका दस्ताबेज थिए । उनले आफ्नै नेतृत्वलाई पनि प्रश्न गर्न कहिल्यै हिच्किचाएनन् ।
‘सञ्जय थापा’को नाममा उनले ५१ बढी कृति लेखेका छन् । जसले उनलाई साहित्यको आकासमा फराकिलो बनायो । देउमाईको किनारमा, एक्काइसौँ शताब्दीकी सुम्निमा, पूर्वतिर, पार्टीकी आमा, आकाशगंगाको तीरै तीर, खुइते कडेरिया जस्ता कृतिहरू प्रगतिशील मूल्यमा अडिएका कृति हुन् । र नेपाली साहित्यलाई दिशानिर्देश गर्ने हैसियत राख्दछन् ।
उनी विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने वामपन्थी थिए । पार्टीले बुर्जुवा भनी खारेज गरेका लेखकहरूलाई पनि सिर्जनाको सामथ्र्यका आधारमा खुलेर सराहना गर्न सक्ने साहस राख्ने ब्यक्तित्व थिए । साँचो प्रगतिशीलता भनेको पूर्वाग्रहबाट मुक्त हुनुपर्छ भन्ने उनको स्पष्ट मान्यता थियो ।
दुनियाँले उनलाई नेता नेपाल नै भनेपनि पञ्चायतकालको अलोकतान्त्रिक पर्खाल भत्काउन शब्दको सटिक र समुचित प्रहार गर्ने ‘साहित्यकार सञ्जय थापा नै उनको मौलिक परिचय हो । विद्रोही चेत, स्वतन्त्र चिन्तन, मौलिक लेखन र सत्य बोल्ने साहस गर्ने, नेपाली समाजमा चेतनाका दिप प्रज्वल्लित गर्ने साहित्यकार सञ्जय अमर रहनेछन् ।





























प्रतिक्रिया