गृहमन्त्रीकाे स्पष्टीकरण- सहसचिव भट्टराईलाई मैले आकस्मिक ल्याएर अध्यागमन पठाएको होइन

गृहमन्त्रीकाे स्पष्टीकरण- सहसचिव भट्टराईलाई मैले आकस्मिक ल्याएर अध्यागमन पठाएको होइन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन विभागका प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईलाई आफूले कुनै विशेष ठाउँबाट ल्याएर आकस्मिक रूपमा अध्यागमन कार्यालयमा नपठाएको स्पष्ट पारेका छन्।

बुधबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा उनले सहसचिव भट्टराईको गृह मन्त्रालयमा लामो र विविध कार्य अनुभव रहेको जानकारी दिए।

गृहमन्त्री लेखकले भट्टराई वि.सं. २०७७ सालदेखि नै गृह मन्त्रालयमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालिसकेका अनुभवी अधिकारी रहेको बताए। उनले भट्टराईलाई अध्यागमनमा सरुवा गर्दा उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको रूपमा कार्यरत रहेको जानकारी गराए। “उहाँ विभागको महानिर्देशक हुनुहुन्थ्यो। यसरी प्रस्तुत गरियो कि मैले कुनै ठाउँबाट ल्याएर अचानक सरुवा गरेको होइन। कसैप्रति आग्रह पूर्वाग्रह राखेको छैन,” गृहमन्त्री लेखकले भने।

गृहमन्त्रीले भट्टराईको सेवाकालको विस्तृत विवरण प्रस्तुत गर्दै, उनी २०७७ सालमा सुरुमा जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत रहेको बताए। सो समयमा रामबहादुर थापा गृहमन्त्री थिए। त्यसपछि उनकै कार्यकालमा महोत्तरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका थिए।

उनका अनुसार, २०७८ सालमा भट्टराई राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको महानिर्देशक भएर कार्यरत थिए, जतिबेला बालकृष्ण खाँण गृहमन्त्री थिए। त्यसपश्चात्, २०७८ पुसमा रवि लामिछाने गृहमन्त्री हुँदा उनी मोरङको प्रमुख जिल्ला अधिकारीको रूपमा गए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रालय सम्हाल्दा र त्यसपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि भट्टराई हेटौंडास्थित बागमती प्रदेशमा सरुवा भए ।

“२०८० साउन ३ गते फेरि गृहमा आउनुभयो। रविजी मन्त्री हुनुहुन्थ्यो। त्यहीबेला कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुनुभयो,” गृहमन्त्री लेखकले भने, “अघि नै निवेदन गरिसकेँ। त्यही बेला अध्यागमन कार्यालय प्रमुखलाई कसुरमा महानिर्देशक बनाएर उहाँलाई अध्यागमनमा सरुवा गरेको हुँ। उहाँ निरन्तर ७७ सालदेखि काम गर्दै आउनुभएको छ।”

Logo