काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले संविधानको रक्षाका निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
‘सातौँ राष्ट्रिय महिला अधिकार दिवस-२०८२’ का अवसरमा महिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय वर्तमान राजनीतिक व्यवस्थाप्रति विभिन्न टीका–टिप्पणी हुने गरेको उल्लेख गर्दै व्यवस्था रक्षाका निम्ति गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए ।
संविधानमा उल्लेख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी/समानुपाति र धर्मनिरपेक्षतालगायत प्राप्त उपलब्धि जोगाउनुपर्ने अहिलेको आवश्यकता रहेको मन्त्री सुडीको भनाइ छ ।
उनले महिलाको सवालमा संसद्मा ३३ प्रतिशतको सुनिश्चितता र शासन प्रणाली र निर्वाचन प्रणालीलगायत प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति सम्पूर्ण महिलाहरु एकजुट हुँदै सङ्घर्ष गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
मन्त्री सुडीले भने, “जबसम्म महिलाहरु आर्थिक रुपमा सम्पन्न हुँदैनन् र उनीहरुले पुरुष समान अधिकार पाउँदैनन्, तबसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन, त्यसकारण महिलाको उद्यमशीलताका लागि महिला मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।”
महिलाको संवैधानिक अधिकारको कार्यान्वयनसँगै महिलालाई हेर्ने देष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । “महिला र पुरुषबीच समानताका लागि परिवारबाटै छोरा/छोरीलाई समान अधिकारको सुरुआत गर्नुपर्छ, तर हाम्रो समाजमा बाबुआमाबाटै छोरा र छोरीलाई विभेद गर्ने प्रचलन अझै हटेको छैन, त्यसलाई हटाउन जरुरी छ”, मन्त्री सुडीले भने ।































प्रतिक्रिया