सांसद डा. सुनिल शर्माले मिनाहा गरे मृतक यादवकाे १० लाख उपचार खर्च

सांसद डा. सुनिल शर्माले मिनाहा गरे मृतक यादवकाे १० लाख उपचार खर्च

केन्द्रबिन्दु
114
Shares

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माकाे पहलमा सर्लाही हरिपुर्वा–५ की पविता यादवको शव परिवारले पाएकाे छ ।

जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलिको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, उनको केही दिनअघि निधन भयो। तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्नसमेत असमर्थ भएका थिए।

यही गम्भीर अवस्थालाई बुझेर मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री तथा कांग्रेस क्षेत्र नं. २ सर्लाहीका सभापति कौशलकिशोर रायको अनुरोध र पहलमा सांसद डा. सुनिल शर्माले १० लाख रुपैयाँ मिनाहा गरी मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाएका हुन् ।

यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ । डा. शर्माको यो कदमलाई भगवानको दूतले दिएको जीवनको सबैभन्दा ठूलो साथको रुपमा लिइएको छ।

मन्त्री कौशलकिशोर रायले भावुक हुँदै भने, “आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवानसरह भएका छन्। यो दुःखद घडीमा गरिब र बेसाहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि-कोटि धन्यवाद ज्ञापन गर्दछु। हामी सदैव ऋणी रहनेछौं।”

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

Logo