काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित वेपत्ता पारिएका नागरिकको सार्वजनिककरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा उनले बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको भन्दै यो मुद्दालाई निष्पक्ष छानबिन नगर्नुको पछाडि केही स्वार्थ रहेको बताएका हुन् ।
उनले भने ‘एउटा निष्कर्षचाँहि समयमै दिनुपर्ने हुन्छ । पछिल्लो समय झनै धेरै लागि परिरहको छौँ । हाम्रोतर्फबाट हुन सक्ने सहयोग गर्ने छौँँ । राज्यले धेरै नै लापरबाही गरिरहेको छ । राज्य संवेदनहीन देखापरेको छ । जवाफविहीन बनेको छ । यो क्रम १९ बर्षदेखि भइरहेको छ । तर यो मुद्दा निश्कर्षमा पुर्याउनपर्ने भनेर बहस चलिरहँदा आयोग भत्काउने काम भएको छ । बेपत्ता आयोगकै नाममा पैसा खर्च भइरहेको छ तर काम भएको छैन ।’
यस्तै, उनले आयोग बन्ने कुरा पीडित परिवारको लागि राम्रो भएको भन्दै यसबारे देशका तीन ठूला दल गम्भीर हुनपर्ने बताए ।
उनले भने, ‘आयोग बन्ने कुरा नराम्रो होइन कि आयोग बन्दा पीडित परिवारको लागि बन्नु पर्नेछ । यसबारे देशका तीन ठूला दल गम्भीर हुनपर्ने देखिन्छ । १९ वर्ष लागिरहँदा अर्को एक हप्ता समय दिए निष्कर्षमा पुगिने देखिन्छ । पीडित परिवारसँग बसेर निस्कर्ष निकाल्दा पार्टीले सहयोग गर्नेछ । माओवादीको आन्दोलन कस्तो हो इतिहासमा फर्किएर हेर्न आवश्यक छ । माओवादी आन्दोलन भनेको आफू मरे पनि आफ्नो आदर्श भुल्न हुँदैन ।’
सोही कार्यक्रममा बलात्कार पीडित महिलाको राष्ट्रिय सञ्जालकी संयोजक देवी खड्काले आयेग गठन भएको तीन महिनासम्म सुचना जारी गर्नपर्ने भन्दै पीडितले दुःख गरेर परिवर्तन गरेको कानुनमा हस्तक्षेप गर्न नहुने बताइन् ।
उनले पीडितप्रति राज्य जिम्मेवार नभएकाले गणतन्त्रमाथि प्रश्न उठिरहेको समेत दाबी गरिन् । उनले नेताहरुले समाज परिर्वतनका कुरा गर्न छाडेर काम गर्नुपर्ने र अझैपनि कुप्रथा चलिआएको छ केही स्थानमा परिवर्तन गर्नुपर्ने समेत बताइन् ।





























प्रतिक्रिया